• मंसिर १३ २०८१, बिहीबार

कुखुराको मासु र अण्डाको महत्वका बारेमा ललितपुरका किसानलाई दिइयो प्रशिक्षण

पुष १४ २०७९, बिहीबार

काठमाडाैं । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुरको आयोजनामा पोल्ट्री किसानहरुलाई व्यवसाय सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा भेटेरीनरी अस्पतालका तथा पशु सेवा विज्ञ केन्द्र ललितपुरका कार्यालय प्रमुख डा. रामप्रकाश प्रधानले मानव स्वास्थ्यका लागि कुखुराको मासुको महत्वका बारेमा जानकारी दिनुभयो ।

सो अवसरमा उहाँले कुखुरामा रोग लाग्नबाट जोगाउने तरिका र स्वाइन फ्लू, वर्ड फ्लू जस्ता कुखुराजन्य रोगबाट बच्ने उपाय लगायतका विषयमा पनि प्रशिक्षण दिनुयो ।

कार्यक्रमका अर्कावक्ता केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरका प्रमुख शर्मिला चापागाइँले खुकुरा पालन व्यवसाय देशको अर्थतन्त्र निर्माणको मेरुदण्ड भएको बताउँदै यसका धेरै आरोह अवरोहहरु आइरहने व्यवसायीहरु सजग भएर लाग्न पर्ने बताउनु भयो ।

कार्यक्रममा अर्का वक्ता ह्याचरी संघका अध्यक्ष बलराम केसीले कोरोना र रुस–युक्रेन युद्धका कारण कुखुराको दाना महँगो भएको बताउनु भयाे । दाना महँगो भएका कारण किसान घाटामा भएको उहाँको गुनासो थियो ।

उहाँले कुखुराको मासु र अण्डाको व्यवसायले देशको ४ प्रतिशत जिडिपी धानेको भन्दै यो क्षेत्रमा ५ लाख किसानहरु सहभागी भएको बताउनु भयाे । उहाँले सरकारले कुखुरालाई दिइने खोप तत्काल सरल तरिकाले उपलब्ध गराइदिनु पर्ने माग राख्नु भयाे।

सोही कार्यक्रममा बोल्दै पशु विकास अधिकृत बासुदेव नाथले कार्यपत्र पेश गर्नुभएको थियो । उहाँले रोग लागेमा सबै जातका कुखुरा नष्ट हुनसक्ने भन्दै धेरै जातका कुखुरा एकै ठाउँ नपाल्न किसानहरुलाई सुझाव दिनुभयो । साथै उहाँले गुणस्तरहीन कुखुरा नपाल्न पनि किसानहरुलाई सुझाव दिनुभयो ।

‘पोल्ट्री क्षेत्रको विकासमा सर्वपक्षीय सहभागिता खाद्य र पोषण सुधार : हाम्रो प्रतिवद्धता’ भन्ने नारा सहित साताव्यापी रुपमा १०औं राष्ट्रिय पोल्ट्री दिवस-२०७९ मनाउने क्रम जारी छ । यही दिवस अन्तरगत किसानहरूलाई प्रशिक्षण दिइएकाे हाे ।