• मंसिर ११ २०८१, मंगलवार

‘दशौं राष्ट्रिय पोल्ट्री दिवस–२०७९’ सप्ताहव्यापी रुपमा मनाइने

पुष ११ २०७९, सोमबार

काठमाडौं । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको आयोजनामा दशौं राष्ट्रिय पोल्ट्री दिवस–२०७९ को शुभारम्भ गरिएको छ । ‘पोल्ट्री क्षेत्रको विकासमा सर्वपक्षीय सहभागिता, खाद्य र पोषण सुधारः हाम्रो प्रविद्धता’ भन्ने मुल नाराका साथ यो दिवस मनाउन लागिएको हो ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको ललितपुर लगनखेलमा रहेको कार्यालयमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि दिवसको शुभारम्भ गरिएको हो ।

कार्यालय प्रमुख डा.रामप्रकाश प्रधानले भेटघाट कार्यक्रमको शुभारम्भ गर्दै उपभोक्ताहरुलाई कुखुराको मासु र यसबाट लिन सकिने फाइदाको बारेमा जनचेतना जगाउने उद्धेश्यले बागमती प्रदेश सरकारको कृषि मन्त्रालयको परियोजना अन्तरगत पोल्ट्री दिवस मनाउन थालिएको बताउनु भयो ।

यो कार्यक्रम काठमाडौं, भक्तपुर र ललितपुरमा एकसातासम्म मनाइने छ । कार्यक्रममा बागमतीमा यी ३ जिल्ला नै बढी कुखुरा उत्पादन हुने जिल्ला भएकोले यी जिल्लालाई केन्द्रित गरेर यो दिवस मनाइने जानकारी दिइयो । दिवस अन्तरगतका कार्यक्रमहरु यही पौष १७ गतेसम्म सञ्चालन गरिनेछ ।

सो अवसरमा पशु चिकित्सक डा.श्रीजा वाग्लेले सप्ताहव्यापी मनाइने कार्यहरुको जानकारी दिनु भयो । उहाँका अनुसार यो एक हप्तामा सामुदायिक विद्यालयहरुमा अण्डा तथा मासुको महत्वका बारेमा स्कूल शिक्षा कार्यक्रम मनाइने, महिला, कुपोषण तथा पुड्कोपन भएकालाई अण्डा वितरण गरिने र पोल्ट्री व्यवसाय सम्बन्धि सचेतना कार्यक्रम गरिनेछ ।

कार्यक्रममा मन्तव्य राख्दै पशु सेवा विज्ञ बासुदेव नाथले नेपालभरको जम्मा कुखुराको संख्याको ५१ प्रतिशत कुखुरा र अण्डा साठी प्रतिशत बागमतीमा उत्पादन हुने भएकोले यसको प्रयोगका बारेमा उपभोक्तमामा चेतना जगाउन यस्ता कार्यक्रम गरिनुपर्नेमा जोड दिनुभयो । यो अभियानबाट कृषि अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्याउने र मासुजन्य उत्पादनका बारेमा जनचेतना फैलाउने उद्धेश्य राखिएको छ ।