• माघ १८ २०८१, शुक्रबार

प्रचण्डकै नेतृत्वमा सरकार बन्नु पर्ने गुरुङको जिकीर, नयाँ दलहरुप्रति गरे यस्तो आशंका

पुष ९ २०७९, शनिबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले गणतन्त्रको प्रस्तावक दल भएको नाताले माओवादीको नेतृत्वमा सरकार बन्नुपर्नेमा जोड दिएका छन् । माओवादी केन्द्र निकट म्याग्दी–काठमाडौं सम्पर्क समन्वय समितिले काठमाडौंमा आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै उनले यस्तो कुरामा जोड दिएका हुन् ।

गुरुङले हालको ५ दलीय गठबन्धनकै तर्फबाट फेरि पनि बहुमतको सरकार दिनु पर्नेमा जोड दिए । गुरुङले गिरिजाप्रसाद कोइरालापछिको शान्ति प्रकृयाको दोस्रो हस्ताक्षरकर्ता भएकोले प्रचण्डको नेतृत्वमा सरकार बनाउनुपर्नेमा पनि जोड दिए ।

गणतन्त्रको प्रस्तावक पनि यही गठबन्धन भएकाले अब पनि गणतन्त्रलाई संस्थागत गर्नका लागि पनि यही गठबन्धनकै निरन्तरतामा सरकार बनाउनु पर्नेमा उनले जोड दिए । गिरिजाप्रसाद कोइरालापछि प्रचण्ड नै यो व्यवस्थाको संरक्षक भएको उनको दावी छ । भूराजनीति र अन्तरराष्ट्रिय राजनीतिको हिसावले देश अत्यन्तै संकटको घडीमा रहेको भन्दै गुरुङले मुलुकको एकताका लागि पनि माओवादीको नेतृत्वमा सरकार बन्नु पर्ने जिकीर गरे ।

आफ्नो पार्टीको नेतृत्वमा सरकार दिन नसके मात्र अर्को विकल्प खोज्नुपर्ने गुरुङको भनाई रहेको छ । सरकार दिन नसकेका कारणले कुनैपनि हालतमा संसद विघटन हुन दिनु हुँदैन भन्दै उनले संसदलाई अकालमा मर्न दिनु हुँदैन । सरकार बन्न नदिएर संसद विघटन गराइ अर्कै खेल खेल्न सकिनेतिर उनले संकेत गरे । उनले देशको स्थिरता र स्थायित्वका लागि सबै दलहरु आपसमा छलफल गरेर नै अगाडी बढ्नु पर्ने बताए । जनताले कसैलाई पनि एकल बहुमत नदिएकोले यस्तो अवस्था आएको उनको भनाई रहेको छ ।

एक सन्दर्भमा संघीयता, समावेशी, गणतन्त्र र धर्मनिपेक्ष जस्ता आन्दोलनका उपलब्धिहरु जोगाउनका लागि सबै दलहरु एक ठाउँमा आउनुपर्नेमा गुरुङको जोड थियो । गुरुङले सामाजिक एकता माओवादीले मात्रै गर्न सक्ने दावी गरेर । दलहरु धेरै भएपनि दल र गणतन्त्रको विकल्प नरहेको उनको बनाई रहेको छ ।

एक अर्को प्रसंगमा उनले हालको निर्वाचनको परिणामले देशमा अनिष्टको संकेत देखिएको बताए । गुरुङले त्रिशंकु प्रकारको संसद बन्नु, एमाले नेतृत्वको गठबन्धनको पनि बहुमत नआउनु र नयाँ जन्मिएको दलहरुको संख्याले मात्रै सरकार बन्न नसक्ने अवस्था आउनु यसपालीको नयाँ विशेषता भएको बताए । नयाँ दलहरुले देशलाई कुन दिशातिर लैजान खोजेका हुन् भन्ने स्पष्ट भइ नसकेकोले संसद ५ वर्षसम्म चल्न सक्छ कि सक्दैन भन्ने प्रश्न उठेको महासचिव गुरुङको भनाई रहेको छ । स्थिरता र स्थायित्व यतिबेलाको आवश्यकता रहेको उनको भनाई रहेको छ ।

कार्यक्रममा बोल्दै म्याग्दीबाट निर्वाचित गण्डकी प्रदेशका सांसद रेशम जुग्जालीमगरले म्याग्दीलाई विकास गर्न र केन्द्रसम्म पहुँचका हिसावले माथि उठाउन पहल गर्नुपर्नेमा जोड दिए । अर्का वक्ता माओवादी केन्द्रका केन्द्रीय सदस्य गोविन्द पौडेलले जनयुद्ध तथा जनआन्दोलनहरुमा म्याग्दी जिल्लाले ठूलो भूमिका खेलेको भन्दै त्यो भूमिकालाई पुँजीको रुपमा विकास गर्नुमा जोड दिए । कार्यक्रममा अर्का वक्ता तथा प्रदेश सांसद हरी भण्डारी र बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले पनि मन्तव्य राखेका थिए । कार्यक्रममा म्याग्दी–काठमाडौं सम्पर्क समन्वय समितिको तर्फबाट सहभागीहरुलाई स्वागत गर्दै माओवादी केन्द्रका नेता अर्जुन थापाले भ्रष्टाचार नियन्त्रण गर्दै विकास निर्माणमा जोड दिनु पर्ने भन्दै विकास निर्माणको कामको जिम्मा लिएका ठेकेदारहरु काम नगरेर भागेको भन्दै यस्तो समस्या तत्काल समाधान गर्न सांसदहरुको ध्यानाकर्षण गराए ।

कार्यक्रममा पूर्व प्रदेश सांसद विनोद केसी, जनप्रतिनिधि झकप्रसाद छन्त्याल र माओवादी केन्द्रका विभिन्न तहका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

सो अवसरका विविध साँस्कृतिक प्रस्तुतिहरु पनि प्रस्तुत गरिएका थिए । कार्यक्रमको सञ्चालन सो संस्थाका उपाध्यक्ष अमर केसीले गरेका थिए भने कार्यक्रमको सभापतित्व अध्यक्ष याममती पुनले गरेकी थिइन् ।