काठमाडौं । लुसेल स्टेडियममा नेपाली समय अनुसार आज राती ८ बजेर ४५ मिनेटमा लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाको सामना गर्दा फ्रान्सले आफ्नो उपाधि रक्षा गर्ने तयारीमा रहेको छ ।
आजको खेलमा फ्रान्स मेस्सीको सुखद बिदाईका लागि बाधक बन्ने देखिएको छ । मेस्सी यो पटक विश्वकपको ट्रफि उचालेर सुखद् बिदाई हुन चाहन्छन् । तर, फ्रान्स अर्जेन्टिनालाई पछि पार्दै लगातार दोस्रो पटक उपाधि आफ्नो पक्षमा पार्ने तयारीका साथ खेल्दैछ ।
मेसीले यसअघि नै आइतबार फ्रान्सविरुद्ध हुने खेल नै विश्वकपमा आफ्नो अन्तिम खेल हुने घोषणा गरिसकेका छन् । जसका कारण पनि उनी विश्वकप जित्दै सुखद बिदाईको आशमा छन ।
मेसीले क्लब फुटबलमा धेरै उपलब्धी हासिल गरे तर अर्जेन्टिनाका लागि प्रमुख प्रतियोगिताको उपाधि जित्न नसकेका भन्दै उनको निरन्तर आलोचना भैरह्यो । गत वर्ष कोपा अमेरिकाको उपाधि जितेसँगै उनको आलोचना केही कम भएका थियो । समूह चरणको पहिलो खेलमा अर्जेन्टिनाले साउदी अरेबियालाई नतिजा सुम्पिएसँगै मेसीको अन्तिम विश्वकप समूह चरणमा सीमित हुने अनुमान गरिएको थियो । तर, मेक्सिको र पोल्यान्डविरुद्धको खेलमामात्र नभई अन्तिम १६ मा अस्ट्रेलिया, क्वार्टरफाइनलमा नेदरल्यान्ड्स र सेमिफाइनलमा गत संस्करणको उपविजेता क्रोएसियामाथि जित निकाल्दा मेसीले प्रभावशाली प्रदर्शन गरेका थिए ।
सात पटकका बलोन डी अर विजेता मेसीले विश्वककप जितेमा उनी पेले र डिएगो म्याराडोनाजस्तै सर्वकालिन खेलाडीमा गनिनेछन् । यता किलियन एमबाप्पे, ओलिभर जिरौउड र एन्टोनी ग्रिजम्यानको उच्च लयले हौसिएको डिडियर डेसच्याम्प्सको टोली १९६२ पछि विश्वकपको उपाधि रक्षा गर्ने पहिलो टोली बन्न चाहन्छ ।
१९६२ मा ब्राजिलपछि कुनै पनि राष्ट्रले विश्वकपको उपाधि रक्षा गर्न सकेका छैनन । यी दुई टोलीको भिडन्तले २०१८ को रुस विश्वकपको अन्तिम १६ को झल्को दिनेछ । जुन खेल फ्रान्सले ४-३ ले आफ्नो पक्षमा पारेको थियो ।
२०१४ को ब्राजिल विश्वकपको फाइनलमा पुगे पनि जर्मनीसँग निराश भएको अर्जेन्टिना दोस्रो अवसर दिने पक्षमा छैन । -एजेन्सीको सहयोगमा