काठमाडौं । कतार विश्वकपको फाइनल भोलि आइतबार नेपाली समय अनुसार बेलुकी ८ बजेर ४५ मिनेटमा हुँदैछ । दोहास्थित लुसेल स्टेडियममा हुने फाइनलमा फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुनेछ ।
यि दुई राष्ट्रबीच उपाधि उचाल्नका लागि तेस्रो पल्ट विश्वकप टर्फि उचाल्ने प्रतिस्पर्धा हुनेछ । यसअघि सन् २०१८ मा फ्रान्सले विश्वकप ट्रफी उचालिसकेको छ । फ्रान्स दोस्रो पटक लगातार ट्रफि उचाल्ने दाउमा छ ।
यसअघि फ्रान्स सन् १९९८ मा पहिलो पटक विश्वकप ट्रफि उचालेको थियो । अर्जेन्टिना सन् १९७८ र १९८६ मा च्याम्पियन भएको थियो ।
फाइनलका हेर्नलायक ६ खेलाडी
लियोनल मेसी (अर्जेन्टिना)
कतार विश्वकपमा सबैको नजर मेसीमाथि छ । मेसीले यो विश्वकप नै आफ्नो अन्तिम भएको बताएका छन् । जारी विश्वकपमा ३५ वर्षीय मेसीले ५ गोल गरिसकेका छन् । यसैगरी तीन पास उपलब्ध गराएका छन् । मेसीले अर्जेन्टिनाबाट १ सय ७१ खेलमा ९६ गोल गरेका छन् ।
केलियन एमबाप्पे (फ्रान्स)
युवा स्ट्राइकर केलियन एमबाप्पे जारी कतार विश्वकपमा निकै लयमा छन् । पेरिस सेन्ट जर्मेन (पिएसजी) का खेलाडी एमबाप्पेले ५ गोल गरिसकेका छन् । उनी मेसीसँगै गोल्डेन बुटको दौडमा छन् ।
साबिक विजेता फ्रान्सका २३ वर्षीय एमबाप्पेले डेनमार्क र पोल्यान्डविरुद्ध समान दुई गोल गर्दा अस्टे«लियाविरुद्ध एक गोल गरेका थिए । एमबाप्पे बल नियन्त्रणमा राख्दै तीव्र गतिमा दौडन, फिनिसिङ गर्न र पास निकाल्नमा माहिर छन् । सेमिफाइलनमा मोरक्कोविरुद्ध गोलविहीन भए पनि दुवै गोलमा एमबाप्पेको योगदान रहेको थियो । सन् २०१७ देखि राष्ट्रिय टोलीमा रहेका एमबाप्पेले ६६ खेलमा ३३ गोल गरेका छन् । एमबाप्पे लगातार दोस्रोपल्ट विश्वकप जित्ने संघारमा छन् ।
ओलिभर जिरोड (फ्रान्स)
अनुभवी स्ट्राइकर ओलिभर जिरोडले जारी विश्वकपमा ४ गोल गरेका छन् । ३६ वर्षीय जिरोडले टोलीका मुख्य खेलाडी करिम बेन्जेमा घाइते भएपछि सेटमा स्थान बनाएका हुन् ।
जुलियन अल्भारेज (अर्जेन्टिना)
पहिलो खेलमा साउदी अरेबिया र दोस्रो खेलमा मेक्सिकोविरुद्ध बेन्चबाट स्थान बनाएका जुलियन अल्भारेज त्यसयता टोलीका ४ खेलमा ‘प्लेइङ सेट’ छन् । सुरुआती दुई खेलमा मुख्य स्ट्राइकर लाउटारो मार्टिनेज स्वाभाविक लयमा नदेखिएपछि प्रशिक्षक लियोनल स्कालोनीले अल्भारेजलाई मौका दिएका जिए । बाँकी ४ खेलमा उनले ४ गोल गरेका छन् ।
इमिलियानो मार्टिनेज (अर्जेन्टिना)
विश्वकपमा अर्जेन्टिनाका गोलरक्षक इमिलियानो मार्टिनेजले उत्कृष्ट प्रदर्शन जारी राखेका छन् । अर्जेन्टिनाले फाइनल यात्रा तय गर्दा तीन ‘क्लिन सिट’ राखे । अर्जेन्टिना सन् २०२१ को कोपा अमेरिका च्याम्पियन हुँदा पनि मार्टिनेजले उत्कृष्ट प्रदर्शन गरेका थिए । उपाधिसँगै ‘गोल्डेन ग्लोभ्स’ जितेका मार्टिनेज अर्जेन्टिनाको नियमित र अनुभवी गोलरक्षक भइसकेका छन् ।
हुगो लोरिस (फ्रान्स)
क्वाटरफाइनल खेलसम्म खासै लयमा नदेखिएका गोलरक्षक हुगो लोरिस त्यसपछिका खेलमा भने उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । कप्तान तथा गोलरक्षक लोरिसले इंग्ल्यान्ड र सेमिफाइनलमा मोरक्कोविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए । विश्वकपमा लोरिसको एकमात्रै ‘क्लिन सिट’ राखेका छन् ।