• मंसिर १२ २०८१, बुधबार

निराशाजनक प्रदर्शनपछि प्रशिक्षक प्रभाकरले दिए राजीनामा

पुष १ २०७९, शुक्रबार

  काठमाण्डौ। राष्ट्रिय पुरुष क्रिकेट टिमको निराशाजनक प्रदर्शनपछि मुख्य प्रशिक्षक मनोज प्रभाकरले पदबाट राजीनामा दिएका छन् ।

प्रभाकरले आज बिहीवारदेखि लागू हुने गरि राजीनामा दिएका नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । नामिबिया भ्रमण सकेर उतैबाट भारत प्रस्थान गरेका मुख्य प्रशिक्षकले दिएको राजीनामा स्वीकृत भएको क्यानले जनाएको छ ।

प्रभाकरको प्रशिक्षणमा नेपालले भर्खरै नामिबियमा सम्पन्न आईसीसी विश्व कप क्रिकेट लिग–२ का चार खेलमध्ये तीन खेल हारेको थियो । नेपालले नामिबियासँग एक र स्कटल्यान्डसँग दुई खेल हारेको थियो भने नामिबियासँगको अर्को खेल वर्षाका कारण खेल रद्द भएको थियो । यो हारपछि नेपालको शीर्ष तीनमा रहने सम्भावना अन्त्य भएको थियो ।

सात देशमध्ये २४ खेलमा मात्र १८ अङ्क जोडेको नेपाल छैटौँ स्थानमा छ । शीर्ष स्थानको स्कटल्यान्डको ३२ खेलमा ४६ अङ्क छ भने दोस्रो स्थानको ओमानको ३६ खेलमा ४४ अङ्क छ ।

त्यस्तै तेस्रो स्थानको नामिबियाको ३० खेलमा ३७, चौथो स्थानको अमेरिकाको ३६ खेलमा ३५ र पाँचौँ स्थानको यूएईको २६ खेलमा २७ अङ्क छ । सातौँ स्थानको पपुवा न्युगिनीको २८ खेलमा पाँच अङ्क छ ।

प्रभाकरको प्रशिक्षणमा नेपालले सेप्टेम्बर–अक्टोबरमा केन्यासँगको टी–२० र एकदिवसीय क्रिकेट शृङ्खला जितेको थियो । त्यस्तै गएको महिना घरेलु मैदानमा सम्पन्न यूएईसँगको एकदिवसीय शृङ्खला पनि नेपालले जितेको थियो ।

पछिल्लो समय प्रभाकर र राष्ट्रिय टिमका खेलाडीको सम्बन्ध समेत बिग्रिएको थियो । जसको कारण प्रभाकरको राजीनामा आएको कतिपयले अनुमान लगाएका छन् ।

तत्कालीन मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएपछि गएको साउनमा क्यानले एक वर्षको सम्झौता गर्दै प्रभाकरलाई नियुक्त गरेको थियो । तर सम्झौताअघि नै प्रभाकरले मुख्य प्रशिक्षकबाट राजीनामा दिएका हुन् ।