• मंसिर १२ २०८१, बुधबार

कतार विश्वकपः फाइनलका लागि अर्जेन्टिना र क्रोएसियाबीचको भिडन्त आज

मंसिर २७ २०७९, मंगलवार

एजेन्सी । विश्वकपमा गोल्डेन बलका दुई दाबेदार खेलाडीबीचको भिडन्त मंगलबार राती हुदैछ ।

नेपाली समयअनुसार राती पौने एक बजे हुने खेलमा अर्जेन्टिना र क्रोएसिया फाइनल प्रवेशका लागि एक पल्ट फेरि भिड्दै छन् । अर्जेन्टिनाका कप्तान लियोनल मेसीले कतार विश्वकप २०२२ नै आफ्नो अन्तिम सहभागिता भएको बताइसकेका छन् ।

क्लब फुटबलमा धेरै उपाधि जितेका सात पटकका बलोन डी अर विजेता मेसी विश्वकप उपाधिसहित सुखद बिदाई चाहन्छन् ।

क्रोएसियालाई लुका मोड्रिचले प्रतिनिधित्व गर्दै छन्। यी दुवै कतारमा जारी विश्वकपको ‘गोल्डेन बल’ का दाबेदार हुन्। यी दुई टोली पछिल्लो पटक रुस विश्वकप २०१८ को समूह चरणमा भिडेका थिए । जहाँ क्रोएसियाले ३-० को सहज जित निकालेको थियो । २०१८ को विश्वकपमा फाइनल पुगेको क्रोएसियाबाट मोड्रिच ‘गोल्डेन बल’ विजेता बनेका थिए।

यता अन्तिम १६ मा जापान र क्वार्टरफाइनलमा ब्राजिललाई पेनाल्टी सुटआउटमा स्तब्ध पारेको क्रोएसिया रुस विश्वकपमा निकालेको नतिजाका निरन्तरता चाहन्छ । दुवैले आफ्नो टोलीलाई सेमिफाइनलको यात्रा गराइसकेका छन्।

दुवै खेलाडीको यो अन्तिम विश्वकप पनि मानिएको छ। मेसी पाँचौ विश्वकपको आफ्नो सहभागितालाई सार्थक तुल्याउन कुनै पनि हालतमा क्रोएसियालाई पराजित गर्न चाहन्छन् भने मोड्रिच पनि गत विश्वकपको फाइनल पुगेर पराजय भोग्नु परेको इतिहासलाई उल्ट्याउन चाहन्छन्।