काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ। आइतबार बिहान अन्तिम क्वाटरफाइनलको खेल पूरा भएसँगै अब अन्तिम चारमा पुग्ने टिमको टुंगो लागेको हो ।
यस पटकको विश्वकपमा साविक विजेता फ्रान्स र साविक उपविजेता क्रोएसियासँगै अर्जेन्टिना र मोरक्को सेमिफाइनलमा पुगेका छन्।
पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसिया तथा दोस्रो सेमिफाइनलमा फ्रान्स र मोरक्को खेल्नेछन्। अर्जेन्टिना र क्रोएसियाबीचको खेल मंगलबार राति पौने १ बजे हुनेछ। अर्जेन्टिनाले क्वाटरफाइनलमा नेदरल्यान्ड्सलाई तथा क्रोएसियाले ब्राजिललाई हराएको थियो।
यस्तै, दोस्रो सेमिफाइनलमा मोरक्को र फ्रान्सबीच बुधबार राति पौने १ बजे खेल हुनेछ। गएराति भएको तेस्रो क्वाटरफाइनलमा मोरक्कोले पोर्चुगललाई पराजित गरेको हो ।