काठमाडौं । महाकाली नदीमा एकतर्फी तटबन्ध बनाएको विषयमा नेपालले आज भारतलाई पत्र पठाउने तयारी गरेको छ । आइतवार भएको घटनाको विवरण तथा तटबन्धका विषयमा नेपालले भारतीय पक्षलाई पत्राचार गर्न लागेको हो ।
गृह मन्त्रालयले स्थलगत विवरणसहित हिजो परराष्ट्र मन्त्रालयलाई पत्र लेखेको र परराष्ट्र मन्त्रालयमार्फत् कुटनीतिक पहल गर्न पत्राचार गरेको हो ।
दुवै पक्षले सम्भव भएसम्मका प्रयास गरेर समस्याको समाधान खोज्नुपर्नेमा दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले पनि जोड दिएका छन् । नेपाललाई क्षति पुग्ने गरी महाकालीमा तटबन्ध निर्माण भएपछि आइतवार दार्चुलाका स्थानीय बासिन्दाले विरोध गरेका थिए ।
महाकाली नदीबीचमा ग्याबिन जाली लगाएर भारतले तटबन्ध निर्माण गरेका कारण तनाव उत्पन्न भएको प्रमुख जिल्ला अधिकारी उपाध्यायको भनाइ छ ।