महोत्तरी । निर्वाचनमा सूर्यमा भोट नदिएको निहुँमा एमालेका कार्यकर्ताहरुले महोत्तरीको निगौलका स्थानीय जनतालाई कुटपिट गरेका छन् । कुटपिटबाट ७ जना स्थानीय घाइते भएका छन् । महोत्तरी क्षेत्र नं १ का निर्वाचित सांसद लक्ष्मी महतो समूहले निगौलका बस्तीमा पुगेर निर्घात कुटपिट गरेको स्थानीयले आरोप लगाए ।
मधेश आन्दोलनका क्रममा नेपाल प्रहरीका असई थमन विकको हत्याको आरोपित महतो फरार अभियुक्तको सूचीमा छन् । निर्वाचनअघि पनि आफूलाई मतदान नगरे कुटपिट गर्ने धम्की दिएका महतोले निर्वाचित भएलगत्तै मंगलबार राती बस्तीमा केही समूह पठाएर कुटपिट गराएको स्थानीयले बताएका हुन् ।
‘हामीलाई मार्ने उद्देश्यले नै लक्ष्मी महतोका भान्जा सुरेन्द्र महतो, वडाअध्यक्ष श्याम मण्डलसहितको टोली पठाएर घरभित्र पसेर गठबन्धनमा भोट किन हालेको भन्दै खोजी खोजी कुटाइयो,’ कुटाइबाट बगेको रगत लागेको कपडा लगाएका र टाउकोमा पट्टी बाँधेका रामछविला साहले भने, ‘उपचारका गराउन अस्पताल पुगेका थियौं, त्यहीँ आएर पुनः कुटपिट गर्न थाले, कोही छुरा हान्देऊ भन्दै थिए त कोही गोली ठोक्देउ भन्दै थिए, भाग्ने पनि मौका मिलेन चारैतिरबाट घेरेर कुटे ।’
कुटपिट गर्नेहरुको पहिचान खुलाएर प्रहरीमा पीडितले दिएको निवेदन उपरछानविन भइरहेको गौशालाका सहायक प्रहरी निरीक्षक भुवनसिं कार्कीले बताए ।