काठमाडौँ । अझैसम्म प्रतिनिधिसभा र प्रदेशसभा चुनावको परिणाम आइसकेको छैन । प्रत्यक्षतर्फको केही क्षेत्रको परिणाम आउन बाँकी छ । त्यस्तै समानुपातिकतर्फको मतगणना पनि जारी छ ।
चुनावको मतगणना नसकिदै आगामी सरकार निर्माण र सत्ता समीकरणबारे चासो बढ्न थालेको छ । भारतीय राजदूत नवीन श्रीवास्तवले सक्रियता बढाएका छन् । चुनावको परिणाम आइनसक्दै भारतीय राजदूतले बढाएको सक्रियता र भेटघाटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
एक दिनअघि देउवालाई भेटेका श्रीवास्तवले शनिबार प्रचण्डसँग भेट गरेका थिए । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका राजदूत श्रीवास्तवले दुवै भेटमा आगामी सरकार निर्माण र सत्ता समीकरणबारे चासो राखेका थिए । यस्तै श्रीवास्तवले आज (आइतबार) नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्ने स्रोतले बताएको छ ।