काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले स्वदेशमै रोजगारी दिनसक्ने कानुन निर्माण गर्न आफूले संसदमा आवाज उठाउने बताएका छन् ।
शनिबार भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ का मतदाताहरूलाई धन्यवाद दिन निकालिएको विजयी जुलुसपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफ्नो दबाब स्वदेशमै रोजगारी सिर्जना गर्ने कानुन निर्माणमा रहने बताएका हुन् ।
भक्तपुर–१ बाट विजयी भएका उनले देशभरका मजदुर किसान, काम गरी खाने जनतालाई फाइदा हुने कानुन निर्माणमा आफू हरक्षण माग गरिरहने बताए । उनले देशमै मलखाद कारखाना खोल्नुपर्ने कुरामा पनि विशेष माग र जोड दिने बताए ।
सरकारका मन्त्रीहरूले नै भारत सरकारसँग मल किन्ने र कमिसन खाने गरेको उनको आरोप छ । उनले देशमा निःशुल्क स्वास्थ्य उपचारको व्यवस्थाका लागि कानुन बनाउन आवाज उठाउने पनि बताए ।
नेमकिपा नेता सुवालले भक्तपुर–१ बाट एमालेका नवराज गेलाललाई ३० हजार ७९३ मतान्तरले पराजित गर्दै विजयी भएका थिए ।
सुवालले ४२ हजार ७१६ मत ल्याएका थिए भने प्रतिस्पर्धी गेलालले ११ हजार ९६८ मत मात्रै ल्याएका थिए ।
भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ को (ख)मा नेपाल मजदुर किसान पार्टीकै सुरेन्द्रराज गेसाई विजयी भएका छन् । १ को (क)बाट भने नेपाली कांग्रेसका सुरेश श्रेष्ठ विजयी भए ।