काठमाडौं । रोल्पामा नेपाली सेनाले हवाइ गस्ती गरेको छ । जिल्लाको उत्तरी क्षेत्रमा रहेका थवाङ, उवा, गाम, पाछावाङ, मिरुल लगायतका स्थानका मतदान केन्द्र नजिक हवाइ गस्ती गरिएको हो ।
जिल्ला निर्वाचन सुरक्षा समितिका अनुसार मतदातालाई रोकिएको खबरपछि उक्त क्षेत्रमा हवाइ गस्ती गर्नुपरेको हो । दिउँसो ३ बजेतिर सदरमुकाम लिवाङ हुँदै उत्तरी क्षेत्रमा गस्ती थालिएको हो । सेनाको सानो हेलिकप्टरबाट गस्ती गरिएको हो ।
सुरक्षा निकायका अनुसार निर्वाचन खारेजी अभियान सञ्चालन गरेको नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले मध्याह्नसम्म कतै कतै मतदातालाई मतदान केन्द्रमा आउनबाट रोक लगाएको निष्कर्ष छ । दिउँसोदेखि मतदाता मतदानस्थल आउन थालेका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ४ बजेसम्म करिब ४० प्रतिशत मत खसेको छ । जिल्लामा १ लाख ४५ हजार ४ सय ७१ मतदाता छन् ।
यसैबीच, दुर्गममा रहेका मतपेटिका हेलिकप्टरबाट ओसारपसार गर्ने सुरक्षा निकायको सुझाव अनुसार थवाङ र गाम क्षेत्रबाट ५ बजेपछि हेलिकप्टरबाट ओसार्ने योजना रहेको छ ।
धवाङमा रहेको एउटा मतदानस्थल नजिकै मध्याह्न तिर बम विस्फोट भएको थियो । त्यस क्षेत्र नजिकै बम राखिएको आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोली समेत परिचालन गरिएको प्रजिअ नवराज सापकोटाले बताए । सुरक्षाका दृष्टिकोणले अति संवेदनशील मानिएका मतदानस्थलबाट मतपेटिका हेलिकप्टरबाट ल्याउने निर्णय भएको हो । प्रमुख जिल्ला अधिकारी सापकोटाले सबैतिर शान्तिपूर्ण तरिकाले निर्वाचन भइरहेको बताए ।
जिल्लामा निर्वाचनको रौनक देखिएको छैन । दिउँसोसम्म जिल्लाभर २१ प्रतिशत मात्रै मत खसेको छ । अघिल्लो निर्वाचनको तुलनामा यो संख्या निकै कम हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहान ७ बजेदेखि सबै मतदान केन्द्रमा मतदान प्रक्रिया थालेपनि प्रायः सबै मतदान केन्द्रमा ७ः३० देखि मतदान सुरु भएको थियो ।