काठमाडौं । रोल्पामा बुधबार जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
रोल्पाको सुनिल स्मृति गाउँपालिका–४ सेवा केन्द्र नजिकै जुगेखोलामा भएको जिप दुर्घटनामा परी एकै घरका दाजुभाइसहित तीन जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा घोराही उपमहानगरपालिका निवासी ५८ वर्षीय विष्णुप्रसाद रिजाल, सोही ठाउँ निवासी ६० वर्षीय नारायणप्रसाद रिजाल र दाङ राप्ती गाउँपालिका–१ भालुबाङ निवासी ५० वर्षीया फाम्सी केसी रहेको जिल्ला प्रहरी कार्यालय, रोल्पाले जानकारी दिएको छ । नारायण र विष्णु दाजुभाइ हुन् ।
रोल्पाको सुलिचौरबाट गजुलतर्फ जाँदै गरेको लु १ ज ३२३४ नम्बरको जिप दुर्घटनाग्रस्त भएको थियो । प्रहरीका अनुसार जिप सडकबाट करिब एक सय मिटर तल खसेको छ ।
जिपमा सवार १५ जना रहेको प्रहरीले बताएको छ । दुर्घटना परेर घाइते १२ जनामध्ये सात जनाको अवस्था गम्भीर छ ।
घाइतेलाई प्राथमिक उपचारपछि थप उपचारका लागि मेडिकल कलेज कोहलपुर सिफारिस गरिएको इलाका प्रहरी कार्यालय सुलिचौरका इन्चार्ज ओमप्रकाश वाग्लेले जानकारी दिए । जिपको अचानक ब्रेकले काम नगर्दा दुर्घटना भएको प्रहरीले बताएको छ ।