• बैशाख २७ २०८३, आईतवार

कसैलाई मतदान नगरौं भन्ने अभिव्यक्ति दिन नपाउने भए शीर्ष नेतालाई निर्वाचन आयोगले विजयी घोषणा गरिदिए भयोः भीम रावल

कार्तिक ९ २०७९, बुधबार

काठमाडौैं । नेकपा एमालेका नेता डा भीमबहादुर रावलले निर्वाचनमा शीर्ष नेतालाई भोट नगरौं भन्ने अभिव्यक्तिप्रति दिएको चेतावनीमा आपत्ति जनाएका छन्।

नेता रावलले कसैलाई मतदान गरौं वा नगरौं भन्न नपाइने भए निर्वाचन आयोगले ‘शीर्ष’ ठानिएका नेतालाई निर्वाचन अघि नै विजयी घोषणा गरिदिए कसो होला भनेर प्रश्न गरेका छन्।

सामाजिक सञ्जालमा नेता रावलले लेखेका छन्- कसैलाई मतदान गरौं वा नगरौं भन्न नपाइने भए निर्वाचन आयोगले ‘शीर्ष’ ठानेका नेताहरूलाई अहिले नै ‘विजयी’ घोषणा गरिदिए कसो होला? यद्यपि आयोगको भनाई नेपालको संविधानको धारा १७ को विचार र अभिव्यक्तिको स्वतन्त्रता र १९ को सञ्चारको हक विरूद्ध छ।’

मंगलबार साँझ निर्वाचन आयोगले एक सूचना जारी गर्दै शीर्ष नेताबारे सामाजिक सञ्जालमा ‘नो नट अगेन’ लेख्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ। यस्तो गतिविधि गर्नेलाई पाँच लाख रुपैयाँसम्म जरिवाना र कैद गर्ने चेतावनी दिँदै आयोगले त्यस्ता फेसबूक पेज तथा ग्रुपहरु बन्द गर्न निर्देशनसमेत दिएको छ।