• जेष्ठ ५ २०८३, मंगलवार

काठमाडौंका विभिन्न स्थानमा जुवातास र कौडा खेल्ने ६२ जना पक्राउ

कार्तिक ७ २०७९, सोमबार

प्रहरीले काठमाडौंका विभिन्न स्थानमा जुवातास र कौडा खेल्ने ६२ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले विभिन्न स्थानमा जुवातास खेलेको अभियोगमा रु ९ लाख १२ हजार ८० नगदसहित ६२ जनालाई पक्राउ गरेको बताए।

पक्राउ परेकामध्ये ९ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको छ। प्रहरीले जुवा खेल्नेबाट रु छ लाख २७ हजार दुई सय ७० नगद र १३ बुक तास तथा कौडा खेल्नेसँग रु दुई लाख ८४ हजार सात सय नगद र १६ थान कौडा बरामद गरेको हो।

प्रहरीले तिहारको समयमा ठूलो हारजित हुने गरी जुवातास खेलेको थाहा पाएमा प्रहरीलाई खबर गर्नसमेत आग्रह गरेको छ।