• जेष्ठ ५ २०८३, मंगलवार

मुलुकको सुरक्षा व्यवस्थालाई पहिलो प्राथमिकता राखेको गृहमन्त्री खाँणको दाबी

कार्तिक ७ २०७९, सोमबार

काठमाडौं । सरकारले मुलुकको सुरक्षा व्यवस्थालाई पहिलो प्राथमिकतामा राखेको बताएको छ ।

गृह मन्त्रालय र बागमती प्रदेश आन्तरिक तथा कानुन मन्त्रालयको आयोजनामा आइतबार आयोजना गरिएको बागमती प्रदेशस्तरीय ‘सुरक्षा गोष्ठी’लाई सम्बोधन गर्दै गृहमन्त्री बालकृष्ण खाँणले सीमित स्रोत र साधनबीच सरकारले मुलुकको शान्तिसुरक्षालाई सुढृढ बनाएको बताए।

‘सरकारले सदैव सुरक्षालाई पहिलो प्राथमिकतामा राखेको छ, आगामी दिनमा झन् व्यवस्थित बनाउँदै लैजान्छौँ’, उनले भने । गृहमन्त्री खाँणले सुरक्षा निकायले दैनिक कार्यमात्र सम्पादन नगरेर बेलाबेलामा मुलुकमा परेको विपत्तिमा खेलेको भूमिका सराहनीय रहेको बताए ।

सुरक्षा गोष्ठीले एकै दिन निर्वाचन सम्पन्न गर्न वातावरण तयार गरेको उनको भनाइ थियो ।

गोष्ठीमा गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंह, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, बागमती प्रदेशका १३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरुले मुलुकको वर्तमान सुरक्षा अवस्थाबारे आ–आफ्नो धारणा राखेका थिए ।