काठमाडौं । दाङको बबई नदीमा नुहाउने क्रममा शनिबार दिउँसो दुई बालिका बेपत्ता भएका छन् । जिल्लाको दंगीशरण गाउँपालिका वडा नं. २ की १३-१४ वर्षीया रमा शाह र सल्यान दामाचौर-१ की १५ वर्षीया गोमा चन्द बगेर बेपत्ता भएका हुन् । चन्द आफन्तको घरमा पाहुना आएकी थिइन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लका अनुसार दिउँसो १ बजेतिर नुहाउन भनेर गएका तीन मध्ये दुई जना बगेका हुन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ बेलटाकुरा र दंगीशरण-२ गोलटाकुरीमा पर्ने सिमलकुना घाट नजिकै नुहाउन गएका उनीहरू शनिबार दिउँसो बगेर बेपत्ता भएका हुन् । बेपत्ता भएको खबर पाए लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी खोजी कार्यमा खटिएको डिएसपी मल्लले जानकारी दिए ।
स्थानीय पौडीबाज लगायत सर्वसाधारण मानिस बेपत्ताको खोजीमा खटिए पनि हालसम्म फेला पार्न नसकिएको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
केही दिन पहिले मात्रै एक जना ब्यक्तिको सितलपुर पुलभन्दा केही माथिबाट नदी तर्ने क्रममा बगेर मृत्यु भएको थियो ।