• बैशाख २७ २०८३, आईतवार

मङ्सिर ४ को निर्वाचन सामान्य निर्वाचन मात्रै होइन, अग्रगमन र प्रतिगमनको लडाइँ पनि हो : अध्यक्ष प्रचण्ड

कार्तिक ४ २०७९, शुक्रबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी मङ्सिर ४ गते हुने निर्वाचन एउटा सामान्य निर्वाचन मात्रै नभई संविधान, लोकतन्त्र र राजनीतिक उपलब्धिको रक्षा गर्ने एउटा महत्वपूर्ण अवसरसमेत भएको बताएका छन् ।

बाम लोकतान्त्रिक गठबन्धन काठमाडौँ क्षेत्र नं ७ ले आज आयोजना गरेको उम्मेदवार परिचय कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि तयार भएको गठबन्धनलाई विजयी गराउनुपर्ने बताए ।

देशमा अहिले प्रष्टरुपमा दुई वटा गठबन्धन आमनेसामने भएको उल्लेख गर्दै उहाँले एउटा गठबन्धन अग्रगमनतिर अर्को पश्चगमनतिर, एउटा संविधान जोगाउनेतिर र अर्को संविधान मास्नेतिर देखिएकाले अग्रमगनको पक्षमा उभिएको आफूहरुको वाम लोकतान्त्रिक गठबन्धनको जित आवश्यक रहेको उल्लेख गरे ।

अध्यक्ष दाहालले भने, “ठूलो सङ्घर्षबाट प्राप्त भएको लोकतन्त्रको उपलब्धिको रक्षाका लागि प्रष्टसँग उभिनु जरुरी छ ।” नेपाली कांग्रेस र वामपन्थी शक्तिको एकता र सहकार्यबाटै २०४६ सालको संयुक्त जनआन्दोलन सफल भएको र पञ्चायती तानाशाहीको अन्त्य भएको तथ्य पेश गर्दै अध्यक्ष दाहालले विस्तृत शान्ति सम्झौतापछि क्रमशः अगाडि बढेको सहमतिकै आधारमा वर्तमान गठबन्धन तयार भएको बताए ।