काठमाडौं । सरकारले प्लास्टिकबाट बनेका फूलगुच्छा, मालालगायतका सामग्री उत्पादन, आयात, बिक्री वितरण र भण्डारण गरे कारबाही गर्ने भएको छ ।
वन तथा वातावरण मन्त्रालयले प्लास्टिकजन्य फूलगुच्छा बिक्री वितरण गरेको पाइएमा १ लाखसम्म जरिवाना लगाइने चेतावनी दिएको छ।
गत साउन १२ गते नेपाल राजपत्रमा सूचना निकालेर सोही मितिदेखि प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण पूर्ण रूपमा रोक लगाउने निर्णय भएको मन्त्रालयले आज जारी गरेको सूचनामा उल्लेख छ।
तिहार र छठजस्ता चाडपर्वहरूमा यस्ता प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको प्रयोग नगर्न र सरकारको निर्णयविपरीत कसैले प्रयोग गरेको वा बिक्री वितरण गरेको पाइएमा वातावरण निरीक्षकबाट १५ हजारदेखि २० हजार रूपैंयासम्म जरिवाना हुने र विभागबाट १ लाखसम्मको जरिवाना हुनेसमेत मन्त्रालयले जनाएको छ। 