कठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रको स्थायित्व र प्रतिगमनलाई परास्त गर्न गठबन्धनलाई भोट दिन आग्रह गरेका छन् । आज (आइतबार) वाम–लोकतान्त्रिक गठबन्धन काठमाडौं निर्वाचन क्षेत्र नम्बर–२ ले आयोजना गरेको निर्वाचन प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।
राजनीतिक परिवर्तनलाई स्थायी बनाउनका लागि जनचाहना बमोजिमको आर्थिक विकास जरुरी रहेको समेत प्रचण्डले बताए । उनले भने, ‘राजनीतिक परिवर्तनलाई स्थायी बनाउनका लागि आर्थिक विकास र समृद्धिको योजनालाई सँगसँगै अगाडि बढाउनुपर्छ । जसका लागि आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनलाई भोट गनुहोला ।’ आर्थिक समृद्धिको अभियानलाई अगाडि बढाउन सकिएन भने राजनीतिक उपलब्धी दिगो हुन सक्दैन ।
यसर्थ यस क्षेत्रको जनचाहना पूरा गर्न सक्ने व्यक्तित्वलाई यस क्षेत्रको उम्मेदवार बनाएको उनले स्पष्ट पारे । वाम–लोकतान्त्रिक गठबन्धन दलमा आवद्ध नेता तथा कार्यकर्तालाई कुनै पनि हिनताबोध नराखी एक अर्काको दलको निर्वाचन चिह्नमा मतदान गर्न आग्रह गरे ।
केही ऐतिहासिक तथ्य र घटनाक्रमको समेत स्मरण गर्दै उनले २०४६ सालको जनआन्दोलन वाम–लोकतान्त्रिक गठबन्धनको बलमा नै भएको र २०६२/६३ को जनआन्दोलन तत्कालिन सात राजनीतिक दल र माओवादीको जोड बलमा नै स्म्पन्न भएको बताए ।
प्रचण्डले विस्तृत शान्ति सम्झौतामा नेपाली कांग्रेसका तत्कालीन साभापति गिरिजाप्रसाद कोइराला र माओवादीका तर्फबाट आफूले हस्ताक्षर गरेर कांग्रेसको निर्वाचन चिह्न रुख र माओवादीको चिह्न हसियाँ हथौंडालाई एक अर्काले स्वीकार गरेको बताए । उनले भने, ‘हामीले एक अर्कालाई स्वीकार गरेका छौँ । कुनै पनि दुविधा नराखी मतदान गर्न म सबैलाई आग्रह गर्दछु ।’
गठबन्धनका तर्फबाट यस क्षेत्रमा पहिलो कार्यक्रम आयोजना गरिएकामा धन्यवाद दिँदै उहाँले निर्वाचन क्षेत्र नम्बर–२ का मतदाताप्रतिको सम्मान पनि भएको बताएका छन् । उनले गठन्धनका उम्मेदवारलाई विजयी गराएर इतिहास कायम गर्न आग्रह गरे । गठबन्धनका तर्फबाट ‘संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन’ भन्ने नारा तय गरिएको प्रचण्डले जानकारी गराए ।
सभामुखका रुपमा देश र जनताको पक्षमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी ओनसरी घर्तीलाई यस क्षेत्रमा गठबन्धनको साझा उम्मेदवारका रुपमा अगाडि सारिएको समेत जानकारी दिए । उनले शान्ति सम्झौता, संविधानसभाबाट संविधान, प्रतिगनम विरुद्धको आन्दोलनलगायत राजनीतिक उपलब्धीको स्मरण गर्दै आर्थिक समृद्धि र स्थायीत्वका लागि गठबन्धनका उम्मेदवारलाई विजयी गराउन विनम्र आग्रह गरे ।
त्यस्तै उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राज्यका सर्वोच्च पदहरूमध्येको एक सभामुखको जिम्मेवारी सम्हाल्नु भएको ओनसरी घर्तीलाई साझा उम्मेदवारको रुपमा यस क्षेत्रले अगाडि सारिएको र यो विषय आफैमा गौरवको भएको बताए । गठन्धनका दलले यसलाई प्रतिष्ठाको विषय बनाउनुपर्नेमा उनको जोड छ ।
पूर्वप्रधानमन्त्री नेपालले मुलुकलाई ठूलो दुर्घटनाबाट बचाएको, लोकतन्त्र र संविधान जोागाउन वाम–लोकतान्त्रिक गठबन्धनले भूमिका आफूहरुले खेलेको बताए । जनताको अधिकारको रक्षा र मुलुकको विकासका लागि गठबन्धनलाई विजय गराउन जरुरी रहेको बताउँदै उनले विगतदेखि थाती रहेका कामलाई समेत पूरा गराएरै छाडिने विश्वास व्यक्त गरे ।
आगामी निर्वाचनपछि पनि गठबन्धन दलकै सरकार गठन हुने स्पष्ट पार्दै नेपालले मुलुकमा गर्नुपर्ने थुप्रै काम सम्पन्न गर्ने दृढता व्यक्त गरे । त्यसैगरी सो कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा वाम–लोकतान्त्रिक गठबन्धनका शीर्ष नेताहरुले जनताको भावना र चहानालाई सम्बोधन गर्न सक्ने उम्मेदवार यस क्षेत्रले पाएको भन्दै उनीहरुले विकासको नयाँ श्रृखला अगाडि बढाउने बताए । यस क्षेत्रलाई स्मार्ट सिटीको रुपमा विकास गर्न सक्ने योजना आफूहरूसँग रहेको उनीहरुले बताए ।