काठमाडौं । सन् २०२२ को ग्लोबल हंगर इण्डेक्स (विश्वव्यापी भोकमारीको सूचकांक) सार्वजनिक भएको छ ।
विश्वका १२१ देशलाई सामेल गरेर सार्वजनिक गरिएको सूचकांकले नेपाल दक्षिण एसियाली मुलुकहरू भारत, पाकिस्तान र बंगलादेश भन्दा राम्रो स्थितीमा रहेको देखाएको छ । सूचकांक अनुसार दक्षिण एसियामा नेपालभन्दा अघि श्रीलंका मात्रै छ ।
कन्सर्न वल्डवाईड आइरिस सहायता एजेन्सी र वेल्टहंगरहिल्फ नामक जर्मन संस्थाले संयुक्तरूपमा सार्वजनिक गरेको प्रतिवेदनअनुसार विश्वका १२१ देशमध्ये नेपाल ८१ औं स्थानमा छ । दक्षिण एसियामा नेपालपछि बंगलादेश ८४ औं स्थानमा छ । यस्तै, पाकिस्तान ९९ औं र भारत १०७ औं स्थानमा छ । यो सूचीमा भारतभन्दा पछाडि अफगानिस्तान १०९ औं स्थानमा छ । यो एसियाकै सबैभन्दा कमजोर अवस्था हो ।
यसको अर्थ दक्षिण एसियाली मुलुकहरू बंगलादेश, पाकिस्तान र भारतमा भोकमरीको गम्भिर अवस्थामा छ । जबकी, ती देशको तुलनामा नेपालमा भने कम भोकमरी रहेको उक्त सूचकांकले देखाएको छ । दक्षिण एसियामा नेपाल अघि श्रीलंका ६४ औं स्थानमा छ । जबकी, श्रीलंका यतिबेला आर्थिक संकटसँग जुधिरहेको छ ।
के हो ग्लोबल हंगर इण्डेक्स ?
ग्लोबल हंगर इण्डेक्स (जीएचआई) विश्वव्यापीरूपमा भोकमरीलाई नजिकबाट मापन गर्ने एउटा विधि हो । यो विधिबाट निस्कने प्रतिवेदनले विश्वको कुन देशमा भोकमरीको स्थिती कस्तो छ भनेर देखाउँछ । जीएचआईको इण्डेक्स विशेषगरी चार साकेतलाई आधार मानेर गरिन्छ । जसमा कुपोषण, व्यापक बाल कुपोषण, पुड्कोपन र बाल मृत्युदर हुन् । जीएचआईको कूल अंक १०० हुन्छ । १०० भन्दा तल रहने सूचकमा आधारमा कुन देशमा कति भोकमरी छ भनेर सूचकांक निकालिन्छ ।
यी हुन् भोकमरी नहुने मुलुक
अध्ययनमा सामेल गरिएका १२१ मुलुकमध्ये चीन पहिलो स्थानमा छ । यसको अर्थ ती १२१ मुलुकहरूको सूचीमध्ये सबैभन्दा कम भोकमरी हुने मुलुक चीन हो । यसपछि, टर्की, कुवेत, बेलारुस, उरुग्वे र चिलि छन् । भोकमरीको स्थिती गणनाका क्रममा दिइने कूल १०० अंकमा विश्वका १७ वटा देशले ५ अंकभन्दा कम हासिल गरेका छन् । जुन, उत्कृष्ट हो ।