• बैशाख २७ २०८३, आईतवार

संविधान रक्षाका लागि सत्ता गठबन्धनबीच चुनावी तालमेल –वर्षमान पुन

आश्विन २९ २०७९, शनिबार

रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले लोकतन्त्र र संविधान रक्षाका लागि सत्ता गठबन्धनका दलहरुबीच चुनावी तालमेल भएको बताएका छन् ।

गृहजिल्ला रोल्पाको लिवाङमा शनिबार गठबन्धनद्वारा आयोजित पत्रकार सम्मेलनमा पुनले गठबन्धन निश्चित उद्देश्यमा आधारित रहेको बताएका हुन् । कुनै बेला दुई प्रमुख शक्तिबीच आमने सामने लडाईं भएको स्मरण गर्दै उनले अहिले मिल्नु परिस्थितिको आवश्यकता भएको तर्क समेत गरे ।

नेता पुनले गठबन्धनका साझा उम्मेदवारविरुद्ध उम्मेदवारी दिएकाहरुलाई उम्मेदवारी फिर्ताका लागि अपिल गरे । सत्ता गठबन्धनद्वारा सिट बाँडफाँटका लागि गठित कार्यदल सदस्यसमेत रहेका पुनले देशभर करिब दुई सय स्थानमा बागी उम्मेदवारी दर्ता भएकामा अब त्यो संख्या ८र१० जनामा झरेको बताए ।

नेता पुन सत्ता गठबन्धनका तर्फबाट एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको रोल्पाबाट उम्मेदवार छन् । उनी २०७४ को चुनावमा पनि रोल्पाबाटै प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।