काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष तथा काठमाडौं १ का उम्मेदवार रविन्द्र मिश्रले आफूले भारी मतान्तरले कांग्रेसका प्रकाशमान सिंहलाई जित्ने दाबी गरेका छन् । नेता मिश्रले सिंहलाई ८ हजार मतान्तरले चुनाव जित्ने दाबी गरेसँगै सभाहलमा तालीको गडगडाहछट टुटेको थियो ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू चुनाव जितेपछि गर्व गर्न योग्य सांसद बनेर देखाउने बाचा गरेपनि परिस्थिति फेरिए पनि नेता मिश्रको प्रतिस्पर्धी फेरिएका छैनन् ।
उनै ह्याभी वेट नेता सिंहसँग सामना गर्नु मिश्रलाई फलामको चिउरासरी हुनेछ । अघिल्लो चुनावमा सिंहले १० हजार ९३६ मत ल्याउँदा विवेकशील साझाका मिश्रले १० हजार ११८ मत मात्र ल्याएका थिए। तर अहिले उनी राप्रपामा पुगेर राजसंस्थाको एजेण्डा बोकेर चुनावी मैदानमा छन् ।
काठमाडौं १ बाट सिंह र मिश्रसहित सुशासन पार्टीका रमेश खरेल, एमाले भ्रातृसंगठन युवासंघका अध्यक्ष किरण पौडेल, स्वतन्त्र उम्मेदवार पुकार बम लगायतका चर्चित अनुहारहरु चुनावी मैदानमा छन् ।