• बैशाख २७ २०८३, आईतवार

चुनाव प्रचारका क्रममा गोरखा दरबार पुगेर दाहालले गरे पर्यटन विकासका कुरा

आश्विन २९ २०७९, शनिबार

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भूकम्पपछि पुनःनिर्माण गरिएको ऐतिहासिक गोरखा दरबारको अवलोकन गरेका छन् । सत्ता गठबन्धनबाट गोरखा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवारसमेत रहेका उनले आज बिहान दरबार अवलोकन गरेका हुन् ।

गोरखा दरबारको अवलोकन गर्दै अध्यक्ष दाहालले गोरखाको ऐतिहासिक विरासत बोकेको गोरखा दरबार प्रचार-प्रसारमा जोड दिनुपर्ने बताए । पर्यटन क्षेत्रको विकासमार्फत् जिल्लाको आर्थिक समृद्धिको पर्याप्त सम्भावना रहेको भन्दै उनले गोरखा ऐतिहासिक धार्मिक तथा सांस्कृति हिसाबले महत्वपूणर् जिल्ला भएको बताए ।

उनले गोरखाको इतिहासले देशको गरिमालाई उँचो पारेको समेत बताए । दरबार अवलोकनका क्रममा गोरखा दरबार सङ्ग्रहालयका प्रमुख नवराज अधिकारीले अध्यक्ष प्रचण्डलाई गोरखा दरबारको ऐतिहासिक महत्वलगायत विषयमा जानकारी गराएका थिए ।

दरबार अवलोकनका लागि अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, सचिव हितराज पाण्डेलगायतका नेता गोरखा दरबार पुगेका थिए । जिल्लामा निर्वाचनको तयारीका लागि अध्यक्ष प्रचण्ड शुक्रबारदेखि गोरखामा रहेका छन् । उनले जिल्लामा सत्ता गठबन्धनका दलका नेता, उद्योगी-व्यवसायी लगायतसँगको छलफललाई तीव्र पारेका छन् ।