• जेष्ठ ४ २०८३, सोमबार

मलामी गएका १३ जना पहिरोले बगाएको पुष्टि भए पनि अवस्था अझै अज्ञात, ४८० जना विस्थापित

आश्विन २८ २०७९, शुक्रबार

काठमाडौं ।  कालीकाेटको तिलागुफा नगरपालिका–४ मा पाँच दिनअघि मलामी जाँदा बेपत्ता भएका १३ जनाको अवस्था अझै थाहा हुन सकेको छैन । स्थानीय हेमराज शाहीको अन्त्येष्टि गर्न तिला नदी किनारमा गएका राँचुली गाउँका १३ जनाको अवस्था थाहा हुन नसकेको हो ।

अन्त्येष्टि कर्म चलिरहँदा आएको पहिरोले उनीहरूलाई कर्णाली नदीमा बगाएको प्रहरीले निष्कर्ष निकालेको छ । उनीहरुलाई पहिरोले बगाएको भन्ने पुष्टि भएको तर त्यसपछिको अवस्था थाहा हुन नसकेको कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताए  ।

प्रहरीले खोजीको काम जारी राखेको बताउदै पहिरोमा परेका थप चार जनाको अवस्था पनि थाहा हुन नसकेको उनले  जानकारी दिए ।

एक हप्ताअघिको बाढी पहिरोमा २३ जना बेपत्ता रहेकोमा ६ जनाको शव भेटिएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए । असोज १९ गतेदेखि सुरु भएको वर्षाका कारण आएको बाढी र पहिरोका कारण कर्णाली प्रदेशमा मात्र १९ जना बेपत्ता भएका छन् ।

कालीकोट बाहेक दैलेख र जुम्लामा एक–एक जना बेपत्ता रहेका कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कार्यालयकाअनुसार वर्षाका कारण घरमा क्षति पुगेर ४ सय ८० जना विस्थापित भएका छन् ।