• बैशाख २७ २०८३, आईतवार

सत्ता गठबन्धनको वक्तव्यप्रति लोसपाको आपत्ति

आश्विन २७ २०७९, बिहीबार

काठमाडौं । सत्ता गठबन्धनले सर्लाही–२ मा गठबन्धनको अधिकारिक उम्मेदवार महिन्द्र राय यादव रहेको वक्तव्य जारी गरेपछि लोसपाले आपत्ति जनाएको छ ।

सर्लाही–२ मा माओवादी केन्द्रको तर्फबाट यादव र लोसपाको तर्फबाट राजेन्द्र महतो उम्मेदवार बनेका छन्। दुवै उम्मेदवार गठबन्धनको भएपनि त्यहाँ मित्रवत प्रतिस्पर्धा हुने सहमति भएको लोसपाले जनाएको छ। नेता महतोको उम्मेदवारीलाई लिएर भ्रम छर्ने काम भएको भन्दै लोसपाले एक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको हो ।

बिहीबार लोसपाका अध्यक्ष महन्थ ठाकुरले विज्ञप्ति जारी गरी लोसपा र सत्ता गठबन्धनको नेतृत्व गर्ने दल नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्रीबीच असोज २२ गते भएको सहमतिविपरीत गठबन्धनको विज्ञप्ति आएको बताएका छन्।

अध्यक्ष ठाकुरले सर्लाही–२ मा मित्रवत प्रतिस्पर्धा हुने, सर्लाही २ को (क) मा कांग्रेस, (ख) मा लोसपा, सर्लाही–१ को (क), महोत्तरी–१ (क) र महोत्तरी–१ (ख) मा लोसपाको उम्मेदवार रहने सहमति भएको जानकारी दिएका छन्।