• जेष्ठ १३ २०८३, बुधबार

एक हप्तामा ५३ को मृत्यु, २६ बेपत्ता, ३७ जना घाइते, १८१ परिवार प्रभावित, १ अर्ब १० करोडको क्षति

आश्विन २६ २०७९, बुधबार

काठमाडौं । पछिल्लो ७ दिन अर्थात् एक हप्तामा ५३ जना मानिसले अकालमा ज्यान गुमाएका छन् । देशका विभिन्न स्थानमा विपद्का घटनामा परी ५३ जनाले अकालमा ज्यान गुमाएका हुन् ।

असोज २० देखि २६ गतेसम्मको अवधिमा उनीहरूले ज्यान गुमाएका हुन् । यस अवधि भरको रेकर्ड अनुसार ११८ वटा विपद्का घटनामा २६ जना अझैँ बेपत्ता भएका छन् भने ३७ जना घाइते भएका छन् । गृह मन्त्रालयका अनुसार बितेको ७ दिनमा विपद्का घटनाबाट १८१ परिवार प्रभावित भएका छन् ।

पछिल्लो साता सबैभन्दा ठूलो जनधनको क्षति बाढी र पहिरोबाट भएको छ । बाढी र पहिरोका घटनामा परी ३९ जनाको मृत्यु भएको छ भने २६ जना बेपत्ता भएका छन् । बाढी र पहिरोबाट सबैभन्दा ठूलो जनधनको क्षति कर्णाली प्रदेशमा भएको गृह मन्त्रालयले जनाएको छ ।

यस वर्ष (२०७९ बैशाख १ गतेदेखि असोज २६ गतेसम्म) विपद्का घटनामा परी नेपालमा २८३ जनाको मृत्यु भइसकेको छ । पछिल्लो करिव ६ महिनाको अवधिमा नेपालमा २ हजार २ वटा विपद्का घटना रेकर्ड भएका छन् । ती घटनामा परी ३३ जना बेपत्ता भएका छन् भने ५८७ जना घाइते भएका छन् ।

यसवर्ष विपद्का घटनामध्ये पहिरोमा परी सबैभन्दा बढीको ज्यान गुमाएका छन् । हालसम्म पहिरोमा परी ९१ जनाको मृत्यु भइसकेको छ । गृह मन्त्रालयका अनुसार विपद्का घटनाबाट १ अर्ब १० करोड रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको छ ।

आज (बुधबार) नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालय केन्द्रीय प्रहरी बुलेटिन कक्षले दिएको जानकारी अनुसार सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

पुर्वी नवलपरासी विनयी त्रिवेणी गाउँपालिका–२ ज्यामिरेमा एनएल ०१ एल २४६० नम्बरको भारतीय ग्याँस बुलेट आफैं अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा सोही ट्रकमा च्यापिएर सहचालक भारत उत्तर प्रदेश फत्तेपुर बस्ने १८ वर्षीय जय नारायण पालको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ग्याँस बुलेट चालकको उपचारको लागि भरतपुर अस्पताल चितवनमा पठाइएको छ ।

त्यस्तै रुपन्देही, सिद्धार्थनगर नगरपालिका–४ उद्योगपुरीस्थित सडकमा लु.५५ प.४७५९ नम्बरको स्कुटर आफैं अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा स्कुटर चालक सिद्धार्थनगर नगरपालिकास्थित पौवा होटलमा काम गर्ने गुल्मी हस्तिचौर गाउँपालिका घर भएका २३ वर्षीय सन्तोष खत्रीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अर्घाखाची छत्रदेब गाउँपालिका–३ रैनापोखरी बस्ने ६५ वर्षीय घन बहादुर घर्तीको सोही ठाउँस्थित बेङ्बी खोलाले बगाउँदा मंगलबार दिउँसो मृत्यु भएको छ ।

गोरु चराउन गएका उनी खोलाले बगाउँदा बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बल्कोटबाट खटिएको प्रहरीले स्थानीयबासीको सहयोगमा खोजी गर्ने क्रममा उनको मृत शव फेला पारेको हो । यस सम्बन्धमा पनि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

काठमाडौं महानगरपालिका–२५ क्षेत्रपाटी न्हयोखामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । धनुषा, जनकपुर उपमहानगरपालिका–८ बजरंग चौकस्थित सिरहा मिर्चैया नगरपालिका–१ मनहर्वा गाउँ बस्ने ४५ वर्षीय श्याम महतो मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

झापा, अर्जुनधारा नगरपालिका–४ स्थित बिरिङ खोलाको किनारमा सोही नगरपालिका–५ कञ्चनबारी बस्ने ५० वर्षीया गंगा भण्डारी मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।

कञ्चनपुर, दोधारा चाँदनी नगरपालिका–४ कालिका टोल बस्ने ६५ वर्षीय लालु सार्की सोही नगरपालिका–४ लठ्ठाघाटस्थित माछापोखरीमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

सोही नगरपालिका थापा चौराहबाट सोमबारदेखि हराई रहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दोधारा चाँदनी र अस्थायी प्रहरी पोष्ट झोलुङ्गेबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त पोखरीमा उनको शव फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।