काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायको विषयलाई राजनीतिकरण गरेर अप्ठ्यारोमा पार्न खोजिए नराम्रो हुने चेतावनी दिएका छन् ।
मंगलवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले संक्रमणकालीन न्यायको सबालमा राजनीति गर्न खोजिएको बताएका हुन् । माओवादी अध्यक्ष दाहालले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकलाई सहमतिकै आधारमा अघि बढाइनुपर्ने बताए।
एमाले अध्यक्ष दाहालले संक्रमणकालीन न्यायको विषयमा राजनीतिक आग्रह/पूर्वाग्रह आउनु भनेको देश र लोकतन्त्रको लागि राम्रो नहुने उल्लेख गरे । ‘संक्रमणकालीन न्यायको विषय हामी सबैको चासो,सरोकार र चिन्ताको विषय हो। हुनुपर्छ पनि। यो पक्ष, विपक्षको कुरा होइन। पछिल्लो समय मान्य मन्त्रीजीले धेरै नै मिहेनत गरेर कुरा गर्नुभएको छ। मैले सम्माननीय राष्ट्रपतिजीसँग पनि यो विषयमा राष्ट्रिय सहमति बनाएर टुंगोमा पुग्नुपर्छ र यसमा अरु पोलिटिक्स नछिरोस्।’
‘यहाँ पोल्टिकल आग्रह, पूर्वाग्रह यहाँभित्र आउनु देश र लोकतन्त्रको लागि राम्रो हुँदैन’, उनले भने,’अरु विषयमा हाम्रा डिबेट हुन सक्लान्। तर यो त यस्तो ऐतिहासिक र युगान्तकारी विषय हो, जुन अन्तर्गत नै हामी संघीय लोकतान्त्रिक गणतन्त्र हुँदै आज हामी यो प्रक्रियामा अघि बढेका छौँ। यो आग्रह भन्दा बाहिर हामी सबै जानैपर्छ। हामीले सहमति बनाएर समाधान गर्ने उद्देश्यले काम गर्ने हो, बल्झाउने उद्देश्यले होइन। हामी कसैले अलिकति एउटा शब्द छिराएर भोलि अफ्ठ्यारो पार्ने भन्ने सोच्यौँ भने त्यो दुर्भाग्यपूर्ण हुन्छ। नैतिक र राजनैतिक हुँदैन।’