काठमाडौं । सरकारले यहि आर्थिक वर्षबाट १० हजार कर्मचारी कटौती गर्ने तयारी गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बजेट बक्तव्यमै उल्लेख भए अनुसार कर्मचारी दरबन्दी कटौती गर्ने प्रक्रिया अघि बढाएको हो ।
सरकारले गत जेठ १५ मा ल्याएको बजेट बक्तव्यमा संघीय निजामती सेवा तथा अन्य सरकारी सेवाका कम्तीमा १० प्रतिशत दरबन्दी कटौती गर्ने उल्लेख भएबमोजिम उक्त निर्देशन दिइएको सामान्यले जनाएको छ । बजेट बक्तव्यको ३७९ मा सरकारी निकायका सङ्गठन संरचना र दरबन्दीको पुनरावलोकन गरिने उल्लेख गरिएको थियो ।
यस्तै बुँदा नम्बर ३६६ मा सङ्घीयता कार्यान्वयनको पाँच वर्षको अभ्यासको आधारमा सङ्घ, प्रदेश र स्थानीय तहको प्रशासनिक पुनर्संरचना गर्न एक उच्चस्तरीय आयोग गठन गरिने र सङ्घीय निजामती सेवा तथा अन्य सरकारी सेवाका कम्तीमा १० प्रतिशत दरबन्दी कटौती गरिनेछ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दरबन्दी संरचनामा कम्तीमा १० प्रतिशत कटौती गर्ने गरी आवश्यक खाका तयार गरी १५ दिनभित्र मन्त्रालयमा पेश गर्न अनुरोध गरेको हो ।
संघमा कर्मचारी समायोजन गरिँदा ४८ हजार दरबन्दी स्वीकृत गरिएकोमा अहिले ५३ हजार हाराहारी कर्मचारी कार्यरत रहेको हुँदा संघमै स्वीकृत दरबन्दीभन्दा सात हजार बढी कर्मचारी कार्यरत रहेका कारण ती दरबन्दी कटौती हुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रशासन सुधार, जनशक्ति , योजना तथा विकास महाशाखाले जनाएको छ ।
