काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले आगामी आउँदो निर्वाचनमा महिलाको सहभागिता बढाउन आवश्यक संशोधन गरिने बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा आगामी मंसिर ४ गते हुने प्रदेशसभा र सङ्घीय संसद्को निर्वाचनमा महिलाको समानुपातिक सहभागिता गराउने विषयमा प्रस्तुत जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमाथि जवाफ दिँदै मन्त्री शर्माले महिला सहभागिताका लागि अवरोधका स्थिति र संरचनात्मक पक्षको विस्तृत अध्ययन गरी संविधानबमोजिम कानुन संशोधन गर्न सरकार तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।
मन्त्री कोइरालाले नीति, कानून, व्यवहार, अभ्यास र दृष्टिकोणमा कुनै अवरोध भएमा त्यसलाई हटाउनुपर्ने र अभियानात्मक तथा क्षमता विकासका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
छलफलमा सांसद निरुदेवी पाल, खगराज अधिकारी, दुर्गा पौडेल, सत्या पहाडी, दिव्यमणिराज भण्डारी, विमला विश्वकर्मा, गणेशकुमार पहाडी, नारायणप्रसाद खतिवडा, विद्या भट्टराई, तुल्सी थापा, रामकुमारी चौधरी, पवित्रा निरौला खरेल, विमला विक, आशाकुमारी विक, सरिताकुमारी गिरी, तेजुलाल चौधरी, मनकुमारी जिसी, मैनाकुमारी भण्डारी, डा डिला सङ्ग्रौला, पार्वता डिसी चौधरी, अञ्जना विसङ्खे, कमला रोक्का, मानबहादुर विश्वकर्मा, नवीना लामा, चाँदताराकुमारी, प्रेम सुवाल, महेश बस्नेत, हितबहादुर तामाङ, राजेन्द्रकुमार केसी, यज्ञराज सुनुवारलगायतको सहभागी थियो ।