काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेको छ । जसको प्रभावका कारण वर्षाको सम्भावना कायमै रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज (मंगलबार) देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ । जसको प्रभावले अहिले सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको उक्त महाशाखाले जनाएको छ ।
त्यस्तै दिउँसो देशका हिमाली, उच्च पहाडी र पहाडी भूभागमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
भारी वर्षाको सम्भावना रहेको पहाडी भूभागका पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदी नाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाद्वारा प्रकाशित बुलेटिनमार्फत अनुरोध गरेको छ ।