• जेष्ठ २ २०८३, शनिबार

नेपाल-जापान संयुक्त बैठक सम्पन्न, जापानको श्रम बजार प्रवेशमा सहजीकरण गर्ने निर्णय

श्रावण १९ २०७९, बिहीबार

काठमाडौं । नेपाल-जापान संयुक्त कार्यसमितिको दोस्रो बैठक काठमाडौँमा सम्पन्न भएको छ ।

काठमाडौंमा आज सम्पन्न बैठकमा सन् २०१९ मा सम्पन्न श्रम समझदारीअनुसार नेपाली युवालाई जापानको श्रम बजार प्रवेशमा सहजीकरण गर्ने उद्देश्यले विभिन्न ४ वटा बुँदामा छलफल गरिएको छ ।

बैठकमा नेपाल जापान श्रम समझदारी पत्रमा नेपाल तथा जापानका समसामयिक कानुनी व्यवस्थाहरू समेटेर परिमार्जन गर्नुपर्ने भएमा सोको तयारी गर्ने समझदारी भएको छ भने जापानको स्पेसिफाइड स्किल वर्कर्स प्रणाली कार्यान्वयन गरी नेपाली नागरिकलाई जापान पठाउन नेपाल सरकारले निर्माण गर्नुपर्ने कार्यविधि बनाउने भनिएको छ ।

बैठकसँगै नेपालीहरूलाई जापानमा काम गर्न सहज हुने र ढोका खुलेको मन्त्रालयका सचिव एक नारायण अर्यालको भनाई छ । बैठकको शुभारम्भ गर्दै मन्त्रालयका सचिव अर्यालले नेपाल जापान श्रम समझदारी पत्र कार्यान्वयन गरी नेपाली नागरिकलाई जापानमा रोजगारी दिने सम्बन्धमा संयुक्त कार्यसमितिको बैठकलाई सफलताका शुभकामना व्यक्त गरेका थिए ।

यसैगरी नेपालमा जापनिज भाषा र सीप परीक्षा उत्तीर्ण गरी जापान जाने तयारी अवस्थामा रहेका नेपालीलाई यथाशक्य छिटो पठाउने विषयमा सहजीकरण गर्ने निर्णयबारे छलफल भएको नेपालको तर्फबाट संयोजकत्व गरेका मन्त्रालयका सहसचिव राजीव पोखरेलले जानकारी दिए ।

संयुक्त बैठकमा नेपालको तर्फबाट सहसचिव पोखरेलसहित परराष्ट्र मन्त्रालयका प्रतिनिधि योजना बम्जन, कानुन तथा न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधि हिमालचन्द्र अर्याल, वैदेशिक रोजगार विभागका निर्देशक डम्बर बहादुर सुनुवार र मन्त्रालयका उपसचिव थानेश्वर भुसाल रहेका थिए भने जापानी प्रतिनिधिमण्डलको तर्फबाट सहायक उपमन्त्री चोमुतो नाकागावाको नेतृत्वमा चार सदस्यीय प्रतिनिधिमण्डल सहभागी रहेको थियो ।