काठमाडौं । चिनियाँ नागरिक याङ याङ र उनका भाषा सहायक सूर्य बहादुर राईलाई बुधवार साँझ ६ जनाको समूहले अपहरण गरे जसमध्ये २ जना प्रहरी रहेको खुलेको छ ।
अपहरणमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । मध्यराति ११: ४० मिनेटमा उनीहरुलाई अपहरण मुक्त गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए । पछिल्लो समय प्रहरीले कल सेन्टरमा छापा मार्न थालेपछि उनी कल सेन्टर छाडेर फ्ल्याटमा बस्न थालेका थिए । चिनियाँ नागरिक भाग्न लागेको र उनीसँग प्रशस्त पैसा भएको सूचनाका आधारमा प्रहरी हवल्दार ३६ वर्षका कर्ण बहादुर गुरुङसहित ६ जनाले सो योजना बनाएका हुन् ।
पक्राउ पर्ने अन्यमा बर्दिया घर भएका प्रहरी जवान २८ वर्षका शिव सुनार, गोरखा घर भएका २८ वर्षीय लक्ष्मण गुरुङ, सर्लाही घर भएका २९ वर्षीय रोहित मगर र प्यूठान घर भएका २८ वर्षका विशाल मगर छन् ।
नुवाकोटको शिवपुरी गाउँपालिका–६ घर भएका २७ वर्षका विनोद केसीसहित ६ जनालाई पक्राउ गरिएको एसपी मैनालीले जानकारी दिए ।
गेष्ट हाउसमा बन्धक बनाएपछि उनीहरुले दोभाषेमार्फत याङको साथीलाई फोन गरेर १ करोड फिरौती लिएर आउन भनेको प्रहरीले बताए । त्यसपछि याङको साथी प्रहरीकहाँ पुगे । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकृतहरुले अनुसन्धान शुरु गरे । आरोपीहरुले फोन गरेको लोकेशन मित्रनगरमा देखियो ।
अपहरणकारी र अपहरित चिनियाँको साथीको बिचमा ५० लाख दिएर ‘अपहरण मुक्त’ गर्ने सहमती भएपछि प्रहरीसँगै चिनियाँ नागरिक नगद बोकेर गोंगबु पुगेका थिए । ‘अपहरणकारीहरुले बिजी मल अगाडि पैसा लिएर आउन भने’ अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्–‘दुईजना पैसा लिन बिजी मल अगाडि आए, उनीहरुलाई नियन्त्रणमा लिएर दुईजनालाई अपहरण मुक्त गर्न सफल भयौं ।’