• फाल्गुन २६ २०८२, मंगलवार

चीनले सुरु गर्यो सैन्य अभ्यास, ताइवान विरुद्ध लामो दूरीका गोलाबारी हुनसक्ने

श्रावण १९ २०७९, बिहीबार

काठमाडौं । अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान भ्रमणबाट फर्किएलगत्तै चीनले ताइवानको सिमा वरपर सैन्य अभ्यास सुरू गरेको छ ।

पेलोसीको भ्रमणको प्रतिक्रिया स्वरूप चीनले ताइवानबाट १६ किलोमिटर मात्र टाढा रहेको समुद्र वरपर सैन्य अभ्यासको घोषणा गरेको बिबीसीले जनाएको छ ।

बिहीबारदेखि सुरू हुने पाँच दिन लामो अभ्यास विश्वका केही व्यस्त जलमार्गमा समेत हुनेछन् । त्यसमा लामो दूरीको प्रत्यक्ष गोलाबारी समेत हुनेछ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिजियान झाओले ट्वीटमार्फत् सैन्य अभियान सुरू गरेको जानकारी गराएका हुन् ।

‘पीएलए (चिनियाँ जनमुक्ति सेना)ले ताइवानको आसपास एक संयुक्त सैन्य अभियान सुरु गरेको छ । चीन आफ्नो सम्प्रभुता र क्षेत्रीय अखण्डताको रक्षा दृढताका साथ गर्दछ,’ उनले भनेका छन् ।

चीनको विरोधबीच आफ्नो छोटो भ्रमण सकेर अमेरिकी सभामुख न्यान्सी ताइवानबाट फर्किसकेकी छन् । पलोसीले राजधानी ताइपेईमा राष्ट्रपतिसहित शीर्ष नेताहरूसँग भेटवार्ता गरेकी थिइन् ।

एउटा स्वशासित टापु ताइवानलाई चीनले आफ्नो भूभाग भएको दाबी गर्दै आएको छ । १९४९ मा चीनमा क्रान्ति सम्पन्न भएपछि त्यहाँका शासक च्याङ काई सेक भागे ताइवान गएर बसेका थिए ।

कम्युनिस्ट विरोधी अमेरिकाले विशाल चीनको सट्टा च्याङ काइ सेक भागेर लुक्न गएको सानो टापु ताइवानलाई देशको मान्यता दिएको थियो । तर पछि चीनले पनि ताइवानलाई आफ्नो स्वशासति क्षेत्रको मान्यता दिइ ताइवानको सुरक्षाको व्यवस्था गर्दै आएको छ ।

यही कारणले ताइवानमा अमेरिकीहरु र चीनको नजर पर्दै आएको छ । चीनले ताइवानलाई आफ्नो सुरक्षाकवचको रुपमा लिन्छ भने अमेरिकाले पनि आफ्नो मातहतको राष्ट्रको रुपमा लिन्छ । यसैकारणले ताइवानलाई प्रयोग गरेर अमेरिकाले चीन विरुद्ध लडाईं छेड्ने तयारी गर्दैछ ।

यसैबीच चीनका विदेशमन्त्री वाङ यीले बुधबार एक विज्ञप्ति जारी गर्दै आगोसँग खेल्नेहरूको अन्त्य सुखद नहुने र चीनको अपमान गर्नेहरूले सजाय भोग्ने चेतावनी दिएका छन् ।

अमेरिकाले तथाकथित लोकतन्त्रको आडमा चीनको सार्वभौमसत्ताको उल्लङ्घन गरिरहेको चीनले आरोप लगाएको छ ।
यसैबीच समाचार एजेन्सी एएफपीका अनुसार ताइवानले २७ वटा चिनियाँ लडाकु विमान ताइवानको हवाई क्षेत्रमा प्रवेश गरेको स्पष्ट पारेको छ । चिनियाँ लडाकु विमानलाई चेतावनी दिन आफूहरूले पनि लडाकु विमान उडाउनु परेको ताइवानले दाबी गरेको छ । ताइवानले जहाजहरूलाई अभ्यासबाट बच्न वैकल्पिक मार्गहरू खोज्न आग्रह गरेको छ ।

छिमेकी जापान र फिलिपिन्ससँग वैकल्पिक उड्डयन मार्गहरू खोज्न वार्तासमेत गरिरहेको बताएको छ । यसैबीच जी–७ देशहरुको समूहले चीनको सैन्य अभ्यास सुरू गर्नु जायज नभएको टिप्पणी गरेको बीबीसीले जनाएको छ ।

जी सेभेनका देशहरु क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिकाका विदेश मन्त्रीहरूले एक संयुक्त विज्ञप्ति जारी गर्दै चीनको बढ्दो तनावले यो क्षेत्रलाई अस्थिर बनाउने खतरा रहेको सचेत गराएका छन् ।
एक विधायकले ताइवानको भ्रमण गर्नु सामान्य विषय भएकाले चीनले यसलाई उचालेर सैन्य अभ्यास र आक्रमणको धम्की दिनु उचित नभएको उनीहरुले बताएका छन् ।

किन ताइवान गइन् पेलोसी ?

अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसी चढेको अमेरिकी वायु सेनाको जहाज मंगलबार साँझ मलेसियाको राजधानी क्वालालम्पुरबाट उड्यो ।

उक्त जहाजको गन्तव्य तोकिएको थिएन तर त्यो ताइवानको राजधानी ताइपेई पुगेर अवतरण हुन्छ भन्ने धेरैले अपेक्षा गरेका थिए । उक्त जहाजबारे संसारभरिका मानिसहरूलाई यति धेरै चासो थियो कि जहाजहरूको उडान ट्र्याक गर्ने साइट फ्लाइटराडार २४ मा मानिसहरू ओइरिए ।

मंगलबार राति उक्त जहाज ताइपेईमा ल्यान्ड गर्न लाग्दा त सात लाख ८ हजार मानिसले एकैपटक पछ्याएका थिए भने क्वालालम्पुरदेखि ताइपेईसम्म पुग्दा २९ लाख २० हजार मानिसले फ्लाइटराडारमा कुनै न कुनै ठाउँमा यो जहाजलाई पछ्याएको उक्त साइटले जनाएको छ ।

संसारका अरू कुनै मुलुकमा जाँदा अमेरिकी सभामुखको भ्रमणले यति धेरै चासो पाउँदैन । उनको ताइवान भ्रमण भने पेलोसीसँग मात्र सम्बन्धित थिएन, संसारका दुई ठूला शक्ति राष्ट्र चीन र अमेरिकासँग जोडिएको थियो । ताइवान नजान चिनियाँ अधिकारीहरूले कडा चेतावनी दिइरहेका बेला पेलोसीको जहाज ताइवान जाने भएपछि अब के होला भनेर संसारभरिका मानिसले चासो राखेका हुन् । उनको भ्रमणअघि ताइवान टापुको आसपासमा अमेरिका र चिनियाँ युद्धपोत जम्मा भएका थिए ।

मंगलबार राति पेलोसी ताइपेई पुगिन् । बुधबार उनी त्यहाँको संसदमा गइन् र राष्ट्रपति साइ इङवेनसँग भेटिन् । आफ्नो भ्रमणबारे पेलोसीले भनेकी छन्‘हाम्रो भ्रमण अमेरिकी संसदीय प्रतिनिधि मण्डलका धेरै भ्रमणमध्ये एउटा हो र, यो ताइवान रिलेसन एक्ट १९७९ विरूद्धमा छैन ।

उनले ताइवानका नागरिकलाई अहिले अमेरिकाको ऐक्यवद्धता निकै महत्वपूर्ण रहेको उल्लेख गर्दै आफू ताइवानप्रतिको अमेरिका प्रतिवद्धतालाई दोर्होयाउन आएको बताएकी छन् । चीनले भने पेलोसीको त्यो व्याख्यालाई स्वीकार गरेको छैन । उनको भ्रमणले चीनको सार्वभौमसत्तालाई मात्र होइन यो क्षेत्रकै स्थायित्वलाई चुनौती दिएको उसको भनाइ छ ।

चिनियाँ विदेश मन्त्रालयले आफ्नो विरोध जनाउन बुधबार बेइजिङस्थित अमेरिका राजदूतलाई बोलाएको छ भने जनमुक्ति सेनाले भोलिदेखि ताइवानलाई घेरेर विभिन्न ६ ठाउँमा हवाई र जल सैन्य अभ्यास गर्ने बताएको छ । ताइवानबाट खाद्यान्न निर्यात गर्ने दर्जनौं कम्पनीहरूलाई चीनले प्रतिबन्ध लगाएको छ ।

पेलोसी आजै ताइपेईबाट दक्षिण कोरियाको राजधानी सउल जाने कार्यक्रम छ । उनको ताइवान भ्रमणले तत्काल आमने सामने भएका छैनन् तर यसको तरंग भने यी दुई देशको सम्बन्धमा लामो समयसम्म रहिरहने देखिन्छ । पेलोसी पछिल्ला २५ वर्षमा ताइवान पुग्ने पहिलो अमेरिकी सभामुख हुन् । सन् १९९७ को मार्चमा तत्कालिन अमेरिकी सभामुख न्युट गिन्ग्रिजले ताइवान भ्रमण गरेका थिए ।

गिन्ग्रिजको भ्रमणका बेला चीन आर्थिक र सैनिक हिसाबले अहिलेजस्तो शक्तिशाली बनिसकेको थिएन । सन् १९४९ मा जनवादी गणतन्त्र बनेको चीनले तत्कालीन सरकार प्रमुख च्याङ काइ सेक गएर बसेको ताइवान टापुलाई आफ्नो अभिन्न अंग ठान्दछ र कुनै दिन मातृभूमिमा मिसाउने लक्ष्य राखेको छ । सन् २०१२ मा चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा आएका र राष्ट्रपति बनेका सी चिनफिङले त ताइवानसँगको एकीकरणलाई आफ्नो पुनर्जागरण अभियानको अभिन्न हिस्सा मानेका छन् ।

शान्तिपूर्ण तरिकाले नभए सैन्य बलमार्फत् पनि ताइवानलाई चीनमा मिसाउने बेइजिङको भनाइ छ । आर्थिक, सामरिक र सैनिक हिसाबले बलियो बन्दै गएको चीनलाई २ करोड ४० लाख मानिस बसोबास गर्ने ताइवानलाई एकीकरण गर्ने समय नजिकिँदै गएको भन्ने लाग्छ । त्यही भएर कुनै पनि अन्तरराष्ट्रिय फोरमहरूमा चीन ताइवानको अस्तित्व स्वीकार्दैन । चीनको प्रभाव बढ्दै गएपछि धेरै मुलुकहरूले ताइवानसँगको कूटनीतिक सम्बन्ध तोड्दै गएका थिए । अहिले ताइवानसँग भ्याटिकन सिटीसहितका १४ मुलुकले मात्र कूटनीतिक सम्बन्ध राखेका छन् ।

अबको केही महिनापछि चिनियाँ कम्युनिष्ट पार्टीको राष्ट्रिय महाधिवेशनबाट तेस्रो कार्यकालका लागि चुनिने तयारीमा रहेका चिनफिङलाई पेलोसीको ताइवान भ्रमण चिढ्याउने खालको थियो ।

केही दिनअघि अमेरिकी समकक्षी जो बाइडेनसँग झन्डै दुई घन्टा बढी भएको टेलिफोन वार्तामा पनि चिनफिङले पेलोसीले ताइवान भ्रमण गर्न नहुने र उनी ताइवान गए कडा प्रतिरोध गर्ने चेतावनी दिएका थिए । बाइडेनले संसदकी प्रमुख भएकाले पेलोसीले कुन कुन ठाउँमा भ्रमण गर्ने आफै निर्णय गर्ने बताएका थिए ।

अनौपचारिक रूपमा बाइडेनले पेलोसीले ताइवान भ्रमण नगरे पनि हुन्थ्यो भन्ने सन्देश पुर्याएका थिए । लामो समयदेखि चीनकी कटू आलोचक रहेकी पेलोसी यसपालि ताइवान जाने कुरामा दृढ थिइन् । अब अर्को कार्यकाल सभामुख नहुने बताएकी पेलोसी सभामुखका हैसियतमा ताइवान जान चाहन्थिन् । उनको यो भ्रमण गत अप्रिलमै हुने भनिएको थियो, कोरोना संक्रमण भएपछि उनी भ्रमणमा निस्कन पाइनन् ।

चीनले तिब्बत, सिन्जियाङ र हङकङमा गरेको मानव अधिकार उल्लंघनका कुरालाई अमेरिका र चीनको आर्थिक सम्बन्ध नराम्रो हुन्छ भन्ने बहानामा नदेखेझैं गर्न नहुने उनको धारणा थियो । चिनियाँ नेतृत्वलाई उनीहरूले चालेका कदमप्रति जिम्मेवार बनाउन पर्छ भन्नेमा पेलोसी दृढ छन् ।

यसअघि उनले यही वर्षको सुरूमा भएको बेइजिङ विन्टर ओलम्पिक अमेरिकाले कूटनीतिक रूपले बहिष्कार गर्नुपर्ने बताएकी थिइन् । त्यसो त आजभन्दा ३१ वर्षअघि पनि पेलोसीले तियामेन स्क्वायरमा गएर चीनमा प्रजातन्त्र हुनुपर्छ भन्ने सन्देश दिएकी थिइन् ।

सन् १९८९ मा बेइजिङको तियामेन स्क्वायरमा प्रजातन्त्र माग गर्दै थुप्रै विद्यार्थीले प्रदर्शन गरेका थिए । चिनियाँ सरकारले उनीहरूमाथि ट्यांकर कुदाएर दमन गरेको आरोप छ ।

उक्त घटनाको दुई वर्षपछि बेइजिङ पुगेको पेलोसीसहित अमेरिकी सांसदको टोलीले तियामेन स्क्वायरमा गएर चिनियाँ र अंग्रेजीमा ‘चीनमा प्रजातन्त्रका लागि ज्यान गुमाएकाहरूका लागि’ लेखिएको ब्यानर देखाएको थियो ।
अमेरिकाको पश्चिमी राज्य क्यालिफोर्नियामा निर्वाचन क्षेत्र भएकी पेलोसीले त्यसयता चीनमा मानव अधिकार उल्लंघन भएको विषयलाई निरन्तर उठाइरहेकी छन् । उनी दलाई लामाकी समर्थक हुन् । सन् २०१५ मा चीन सरकारको अनुमति लिएर उनले ल्हासा भ्रमण पनि गरेकी थिइन् ।

मंगलबारको ताइवान भ्रमणले चीनबाट जति उनको आलोचना भएको छ । अमेरिकामा भने समर्थन बढेको छ । पेलोसीको कहिल्यै प्रशंसा नगर्ने प्रतिपक्षी दल रिपब्लिकनका सांसदहरूले पनि उनले ताइवान जाने सही निर्णय गरेको भन्दै प्रशंसा गरेका छन् ।

आफ्नो राजनीतिक करियरभरि चीनको आलोचक रहेकी पेलोसीको यो भ्रमणले सभामुखका रूपमा ताइवान गएर संकटका बेला ताइवानलाई साथ दिन्छौं भन्ने सन्देश दिने योजना पूरा भएको छ तर उनको यो भ्रमणले चीन र अमेरिका सम्बन्धलाई कुन दिशामा लैजान्छ र त्यसले ताइवानको भविष्यलाई कस्तो असर पार्छ आगामी दिनमा थाहा हुनेछ ।

(द न्युयोर्क टाइम्स, द इकोनोमिस्ट लगायत विभिन्न अन्तरराष्ट्रिय सञ्चारमाध्यमका विवरणहरूमा आधारित )