काठमाडौं । नेपाली कांग्रेसका सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको प्रजातान्त्रिक आन्दोलनका एक अथक योद्धा नेता गोपालदास वादेको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
सभापति देउवाले आज एक शोक वक्तव्यमार्फत कांग्रेसको सङ्गठन निर्माण र नेपालको प्रजातान्त्रिक आन्दोलनमा वादेको सक्रिय योगदानको स्मरण गर्दै उनीप्रति श्रद्धाञ्जलि र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । देउवाले उनको निधनबाट कांग्रेसले एक असल र निष्ठावान नेतालाई गुमाएको उल्लेख गरेका छन् ।
कांग्रेस काभ्रेका पहिलो पुस्ताका नेता वादेको ९७ वर्षको उमेरमा आज बिहान काभ्रेको बनेपास्थित आफ्नै निवासमा निधन भएको थियो । भारतको कोलकतामा भएको कांग्रेसको महाधिवेशनमा भाग लिनुभएका उनका दाजु राजदास वादेको प्रेरणाबाट उनी कांग्रेसको सक्रिय राजनीतिमा प्रवेश गरेका थिए ।
विसं २००३ देखि कांग्रेसमा आबद्ध रहेका स्व वादे सामाजिक कार्यमा समेत उत्तिकै सक्रिय थिए । वादे परिवारको सहयोगमा बनेपामा शिर मेमोरियल अस्पतालको समेत स्थापना भएको थियो । उनी कांग्रेस बागमती प्रदेशका महामन्त्री एवं पूर्वराज्यमन्त्री कञ्चनचन्द्र वादेका पिता हुन् ।
जननायक वीपी कोइराला, लौहपुरुष गणेशमान सिंह, सन्त नेता कृष्णप्रसाद भट्टराईको सानिध्यतामा रहेर उनले कांग्रेसको सङ्गठन निर्माण र प्रजातान्त्रिक आन्दोलनमा उल्लेखनीय भूमिका निर्वाह गरेको कांग्रेस पार्टी कार्यालयले जनाएको छ ।