• जेष्ठ २ २०८३, शनिबार

बेटी पढाऔं, बेटी बचाऔं कार्यक्रममा भ्रष्टाचार भएको अख्तियारको निष्कर्ष

श्रावण १८ २०७९, बुधबार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश सरकारले सञ्चालन गरेको बेटी पढाऔं, बेटी बचाऔं कार्यक्रममा भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ ।

उक्त कार्यक्रम अन्तर्गत साइकल खरिदका क्रममा भ्रष्टाचार भएको निष्कर्ष निकालेर विशेष अदालतमा मुद्दा दायर गर्ने निर्णय गरेको हो अख्तियार स्रोतले बताएको छ ।

‘अहिले विशेष अदालतमा आरोपपत्रको मस्यौदा रुजु गर्ने क्रम चलिरहेको छ’ अख्तियार स्रोतले भन्यो, ‘प्रमुख सचिव सहित केही सरकारी कर्मचारी विरुद्ध भ्रष्टाचारमुद्दा दायर हुनेछ ।’

मधेश प्रदेश सरकारले छोरी पढाउन अभिप्रेरित गर्ने गरी यो कार्यक्रम घोषणा गरेको थियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले कार्यान्वयन गर्ने गरी यो कार्यक्रम अघि बढाइएको थियो ।

यो कार्यक्रम अन्तर्गत विद्यालय तहमा अध्ययन गर्ने छात्रालाई साइकल वितरण गर्ने गरिएको थियो । गत वर्ष महालेखा परीक्षकको कार्यालयले साइकल खरिदमा अनियमितता भएको आशंका गरेपछि अख्तियारले २०७८ असोज १३ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा छापा मारेर कागजात नियन्त्रणमा लिएको थियो ।