• बैशाख २६ २०८३, शनिबार

काठमाडौंमा बसेर देश बेच्ने विदेशी दलालहरुलाई कारवाही गर्नुपर्छ : बास्तोला

श्रावण १८ २०७९, बुधबार

मुक्ति गैरे, दाङ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का केन्द्रीय संयोजक धर्मेन्द्र बास्तोलाले काठमाडौंमा बसेर देश बेच्ने विदेशी दलालहरुलाई कार्वाही गर्नुपर्ने बताएका छन् ।

उनले बहुमत पार्टी दाङको प्रथम जिल्ला सम्मेलन आयोजक समितिले आयोजना गरेको राजनीतिक तथा वैचारिक प्रशिक्षणमा बोल्दै राज्यले देशमा भएका नदीनाला, वनजंगल, उद्योग कलकारखाना, युवा र महिलाहरुको श्रम समेत बेचेर ब्रह्मलुट मच्चाएको आरोप लगाए ।

त्यही ब्रह्मलुटै शिलशिलामा अमेरिकी एमसीसी पास गरेर अमेरिकालाई देशको स्रोतसाधन बेच्ने र नागरिकता विधेयक पास गरेर भारतीयलाई नेपाल भित्र्याएर फिजीकरण बनाउन लागेको भन्दै ती विदेशी दलालहरुलाई कार्वाही गर्नुपर्ने उनको भनाई रहेको छ ।

साथै बास्तोलाले काठमाडौंमा बस्ने दलालहरुको सम्पत्ति खोसेर श्रमजीवी सर्वहारा जनताहरुलाई बाँड्नु पर्ने समेत बताए ।
उक्त प्रशिक्षणमा सो पार्टीका लुम्बिनी ब्यूरो इञ्चार्ज सार्दुल, गण्डक ब्यूरो कार्यालय सदस्य अनन्त र दाङ जिल्ला इञ्चार्ज तिलकले समेत प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा लुम्बिनी ब्यूरो सदस्य तथा पाल्पा जिल्ला संयोजक दिग्दर्शन, अखिल (क्रान्तिकारी)का केन्द्रीय कोषाध्यक्ष दिपक विष्ट लगायतका अतिथिहरुको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा सो पार्टीका घोराही नगर इञ्चार्ज हिमालले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको अध्यक्षता तथा सञ्चालन वीरेन्द्रले गरेका थिए ।