• श्रावण १३ २०८३, बुधबार

धरानका मेयर राईमाथि खनियो एमाले, यस्तो छ राईमाथि एमालेले लगाएको आरोप

श्रावण १७ २०७९, मंगलवार

धरान । नेकपा एमालेले धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङमाथि गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको आरोप लगाएको छ ।

एमालेको धरान कमिटीका अध्यक्ष हर्कजंग एडेङले मंगलबार विज्ञप्ति जारी गर्दै बराह बचत तथा ऋण सहकारी पीडितहरुबारे मेयर सम्पाङले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् ।

एमालेको विज्ञप्तिमा भनिएको छ, ‘नगरप्रमुख हर्कराज राईका पछिल्ला गैरजिम्मेवार पूर्ण अभिव्यक्तिले जनप्रतिनिधि, नगर कार्यपालिका र सिंगो धरानबासीको गरिमा खस्किएको छ ।’

साथै मेयरको कार्यालयमा भएको तोडफोडकोे जिम्मेवार पनि स्थानीय सरकार प्रमुख भएको एमालेले बताएको छ । पीडितहरुले उठाएको विषयमा गैरजिम्मेवार अभिव्यक्तिका कारण घटना भएको भन्दै एमालेले भनेको छ, ‘घटनापश्चात पनि सामाजिक सञ्जालमार्फत् पीडित जनतालाई धम्कीको भाषा प्रयोग गरिएपछि अवस्था झनै बिथोलिएको छ ।’

बराह संघर्ष समितिका संयोजक खगेन्द्र नेपाललाई जोडेर पूर्वउपमेयर मञ्जु भण्डारी र सिंगो एमालेको बद्नाम गर्न खोजेको एमालेको आरोप छ ।

मेयर राईकै अभिव्यक्तिकै कारण संघर्ष समितिका संयोजकलाई जातिगत आक्षेप लगाउँदै जातीय सद्भाव बिथोल्न खोजिएको समेत एमालेले बताएको छ ।