काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाल भारतबीचको महाकाली सन्धि खारेज गर्न माग गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद सुवालले त्यसका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।
उनले भने–‘एकीकृत महाकाली सन्धिमा कतिपय कमजोरिहरु रहेको अहिले पुनः चर्चामा आएको छ । नेपाल मजदुर किसान पार्टीले टनकपुर सन्धिलाई समझदारी भनेर अगाडि बढाएकै बेला देशघात भएको कुरा स्पष्ट रुपमा राखेको हो ।
सुगौली सन्धि अनुसार महाकाली नदी पारीको भाग मात्र भारतको पर्दछ अर्थात महाकाली नदी सिंगै नेपालको हो । सम्झौतामा महाकाली नदी सिमारेखा लेख्नु कमजोरी र राष्ट्रघात हो ।
लिम्पियाधुरासहित नेपालको नक्सा बन्नुअघिको महाकाली सन्धि खारेज गरी सिंगो महाकाली नदीमा नेपालको अधिकार कायम गर्न जरुरी छ । यससम्बन्धी कारवाहीका लागि सम्बन्धित मन्त्रीहरुको ध्यानाकर्षण गराउन चाहन्छु ।’ उनले गृहमन्त्री, परराष्ट्रमन्त्री र भूमिसुधार मन्त्रीको ध्यानाकर्षण गराए ।