नकुल चौलागाईं, काभ्रे ।
नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट युवा जनस्वमसेवक नेपाल काभ्रे जिल्ला समितिले काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई विभिन्न मागहरु राखी ज्ञापनपत्र बुझाएको छ ।
संगठनका जिल्ला संयोजक असल र अजयको नेतृत्वमा गएको टोलीले ज्ञापनपत्र बुझाएको हो । मिटर ब्याजीहरुले जनताबाट चर्को रूपमा ब्याज असुली जनताको ढाड सेकिरहेको हुनाले यस्तो ज्यादती तत्काल रोक्न माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापनपत्रमा प्रहरी प्रशासनले त्यस्ता मिटर ब्याजीहरुलाई बचाउ गरेको भन्दै जनता मारमा परेकोले यस्तो ज्यादतीको अन्त गर्नुपर्ने माग गरिएको छ ।
देशको अर्थतन्त्र टाट पल्टाई नेपाली जनताहरूलाई ऋणमा डुबाउने र नेपाली पुँजी विदेशी साम्राज्यवादका हातमा पलायन गराउने उद्धेश्यले सञ्चालित घुसखोरी र सुदखोरीका माझ हात फैलाएर बसेको लघु वित्तीय, फाइनान्स र मिटर ब्याजी जस्ता एकको दस असुली गर्ने दलालहरूलाई संगठनले कारवाही गर्ने जिल्ला प्रशासनलाई बुझाएको ज्ञापन पत्रमा चेतावनी दिइएको छ ।