काठमाडौं । थुनामा रहेकी महिलालाई मध्यरातमा आफ्नो कोठामा लैजाने इलाका प्रहरी कार्यालय कोहलपुरका असई प्रविण चौलागाईं निलम्बित भएका छन् ।
मुद्दा शाखामा कार्यरत चौलागाईं विरूद्ध बलात्कार मुद्दा दर्ता भए लगतै उनी निलम्बनमा परेका हुन् । बाँके जिल्ला प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेका अनुसार प्रहरी आचरण विपरितका काम गरेका चौलागाईंलाई हाल थुनामा राखेर घटनाको अनुसन्धान भइरहेको बताए ।
‘मुद्दा दर्ता हुनासाथ चौलागाईं निलम्बित भइसकेका हुन,’ न्यौपानेले भने, ‘अदालतबाट सफाइ पाए मात्रै जागिरमा फर्किने सम्भावना रहन्छ नत्र जागिर जान्छ ।’
शुक्रबार बिहान २ बजे बहुविवाह मुद्दामा पक्राउपछि इप्रका कोहलपुरको थुनामा रहेकी एक महिलालाई असई चौलागाईंले मध्यरातमा निकालेर आफ्नो कोठामा पुर्याएका थिए । त्यो थाहा पाएपछि प्रहरी थुनामा रहेका ब्यक्तिले होहल्ला गर्दै विरोध जनाएका थिए ।
शनिबार पीडित महिलाले आफ्ना आमा बुवाको साथ जिल्ला प्रहरी कार्यालय नेपालगन्जमा गएर असई चौलागाईं विरूद्ध बलात्कार मुद्दा दर्ता गराएकी थिइन् ।
असई चौलागाईंले सोधपुछको बहानामा मध्यराति आफ्नो कोठमामा पुर्याई आफूलाई यौन दुर्व्यवहार तथा बलात्कारको प्रयास गरेको पीडितको जाहेरीमा उल्लेख छ ।
प्रहरीले सोमबार आरोपित चौलागाईंलाई अदालतमा उपस्थित गराउँदैछ । यसअघि जिल्ला अदालत बाँकेले चौलागाईंलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न दिएको म्याद सकिएको हुँदा फेरि म्याद थपका लागि अदालतमा लैजान थालेको हो ।