काठमाडौँ । सरकारले संघीय निजामती ऐनमा नायब सुब्बाका मागहरु सम्बोधन नगरेको भन्दै नायब सुब्बाहरु आन्दोलनमा उत्रिएका छन्।
सोमबार सिंहदरबारमा सामान्य प्रशासन मन्त्रालय अगाडि नायब सुब्बा बचाउ अभियानसहित सबै सरकारी विभिन्न निकायका सम्पूर्ण नायब सुब्बाहरुले आन्दोलन सुरु गरेका हुन्। उनीहरुले आफ्नो माग पूरा नभए देशभरका २० हजार नायब सुब्बाहरुले देशभर सशक्त आन्दोलनका कार्यक्रम घोषणा गरेर आन्दोलन गर्ने चेतावनी दिएका छन्।
१० वर्ष काम गरेको नायब सुब्बालाई एक तह र १० वर्षभन्दा माथि काम गर्नेलाई दुई तह बढुवा गर्ने व्यवस्था संघीय निजामती ऐन राख्नुपर्ने उनीहरुको माग रहेको छ।
नायब सुब्बाको मागलाई समेटेर तत्काल संघीय निजामती ऐन जारी गर्नसमेत माग गरेका छन्। नायब सुब्बाहरुले प्रस्तावित संघीयन ऐनमा संघ, प्रदेश र स्थानीय तहमा एकरुपता काय गर्न समयसीमा किटानका साथै सबै तहमा एउटै मिटिबाट लागू हुनेगरी प्रत्येक ५ वर्षमा एक तह वृद्धि हुनेगरी तहगत व्यवस्था राख्नुपर्ने माग रहेको छ।
राजपत्रांकित तृतीय श्रेणी शाखा अधिकृतसरहको पदपूर्तिमा ५० प्रतिशत खुला, ४० प्रतिशत बढुवा र १० प्रतिशत आन्तरिक प्रतिस्पर्धाको व्यवस्था हुनुपर्ने माग छ।