• फाल्गुन २६ २०८२, मंगलवार

नेपालकी विष्णुमाया परियारको बारेमा अमेरिकामा पढाइ हुँदै

श्रावण १६ २०७९, सोमबार

काठमाडौं । अमेरिकाको मासाचुसेट्स राज्यको एक विद्यालयस्तरको पाठ्यक्रममा नेपाली सामाजिक अभियन्ता डा. विष्णुमाया परियारबारेको पाठ समावेश गरिएको छ ।

सो राज्यको कक्षा ७ को सरकारी पाठ्यक्रममा अमेरिका निवासी डा. परियारबारेको पाठ समावेश गरिएको अमेरिका निवासी पत्रकार प्रदीप परियारले जानकारी दिए ।

विश्वको इतिहास र भूगोल विषयको १२ नम्बरको ‘च्याप्टर’मा डा. परियारका बारेमा तयार पारिएको वृत्तचित्र ‘अनटचेवल’ समेत समावेश गरिएको उनको भनाइ छ ।

उनले भन्नुभयो, “अमेरिकाको मासाचुसेट्स राज्यको डिपार्टमेन्ट अफ एजुकेशनबाट स्वीकृत पाठ्यक्रममा विश्वको इतिहास र भूगोल विषयमा नेपाली विष्णुमाया परियारका बारेमा पाठ समावेश गरिएको छ, भिडियो र ‘स्लाइड शो’को माध्यमबाट पढाइने उक्त पाठमा परियारका बारेमा र जातीय विभेदबारे जानकारी दिने आठवटा स्लाइडसमेत समावेश गरिएको छ ।”

सो पाठ मासाचुसेट्सका सबै सरकारी विद्यालयमा उपलब्ध रहेको र आगामी वर्षदेखि राज्यका धेरै विद्यालयमा लागू हुने परियारले जानकारी दिनुभयो । पाठमा नेपालमा जातीय विभेद र असमानताबारे समेटिएको छ ।