• जेष्ठ २ २०८३, शनिबार

देशभर लगातार ३ दिनसम्म मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने, सतर्क रहन आग्रह

श्रावण १६ २०७९, सोमबार

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज (सोमबार) जारी गरेको तीन दिनको मौसम पूर्वानुमान बुलेटिनअनुसार देशभर आउँदो बुधबारसम्म लगातार वर्षा हुनसक्ने उल्लेख गरेको छ ।

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने उक्त महाशाखाले बताएको छ । देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

त्यस्तै प्रदेश–१, मधेस प्रदेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति देशभर सामान्य बदली रहनेछ । हिमाली, उच्च पहाडी र पहाडी भूभागका केही स्थानमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थान आसपास र पूर्वतिर सरदर स्थानभन्दा केही उत्तरतिर रहेको महाशाखाले जनाएको छ ।

जसअनुसार सोमबार (आज)देखि पर्सि (बुधबार)सम्म लगातार वर्षा हुनेछ । मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने भएकोले सतर्क रहन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।