• बैशाख २६ २०८३, शनिबार

प्रधानमन्त्री देउवाद्वारा ‘गुहेश्वरी फोहोरपानी प्रशोधन केन्द्र’ को उद्घाटन

श्रावण १५ २०७९, आईतवार

काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले  ‘गुहेश्वरी फोहोरपानी प्रशोधन केन्द्र’ को उद्घाटन गरेका छन् ।

आइतबार विशेष समारोहबीच काठमाडौंको गुहेश्वरीस्थित बागमति नदी किनारामा निर्माण गरिएको फोहोरपानी प्रशोधन केन्द्रको उद्घाटन गरेका हुन् ।

काठमाडौं उपत्यकाको बढ्दो शहरीकरणको कारण पवित्र बागमती नदी र यसका सहायक नदीहरुलाई उपत्यका भित्र स्वच्छ, सफा, हराभरा र जीवन्त राख्ने उदेश्यले सञ्चालन गरिएको सो प्रशोधन केन्द्रको स्विच अन गरेर उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले हिन्दुहरुको आराध्यदेव पशुपतिनाथका भक्तजनहरुले शुद्ध बागमतिको शुद्ध पानी प्रयोग गर्न पाउने आशा व्यक्त गरे ।

खानेपानी मन्त्रालय अन्तर्गतको काठमाडौ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले निर्माण गरेको अत्याधुनिक सो फोहोरपानी प्रशोधन केन्द्रबाट दैनिक तीन करोड २४ लाख लिटर फोहोर पानी प्रशोधन हुन्छ ।

प्रधानमन्त्री देउवाले यस्ता प्रशोधन केन्द्रहरु देशका अन्य सहरहरुमा पनि स्थापना गर्नु पर्ने भन्दै यसले नदीलाई स्वच्छ बनाउने र वातावरणमा नकारात्मक असर नपर्ने बताए ।

खानेपानी उमाकान्त चौधरीले समग्र काठमाडौं उपत्यका भित्र बागमती र यसका सहायक नदीहरुमा अध्यधिक प्रदुषण र नदी अतिक्रमण हुँदा जलचर र बनस्पतिहरु नासिँदै गएर काठमाडौं उपत्यकाको सभ्यता माथि चुनौति थपिएकाले त्यसको समाधानका लागि आयोजनाले उपत्यकाका अन्य स्थानमा पनि प्रशोधन केन्द्र धमाधम निर्माण गरिरहेको जानकारी दिए ।

कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले  महानगरले खानेपानी मन्त्रालयसँग सहकार्य गरेर अघि बढ्ने बताए ।

राजधानी काठमाडौंमा बर्षातको पानी प्रशोधन नभए ढलमा मिसिन जाँदा समस्या विकराल बन्दै गएको भन्दै मेयर शाहले त्यसको समाधानका लागि सहकार्य गर्ने बताए ।

पूर्व नेपाली कांग्रेसका सभापति स्व.गिरिजाप्रसाद कोइरालाले २०५३ सालमा शिलान्यास गरेको गुहेश्वरी फोहोरपानी प्रशोधन केन्द्रको आज कांग्रेस सभापति तथा प्रधानमन्त्री  देउवाले उद्घाटन गरेका हुन् ।