• मंसिर १२ २०८१, बुधबार

काठमाडौंको टोखामा विविध कार्यक्रम गरि मनाइयो साउन पन्ध्र (तस्वीर सहित)

श्रावण १५ २०७९, आईतवार

काठमाडौं । साउन १५ गतेलाई नेपाली समाजमा विशेष महत्वको दिनको रुपमा लिने गरिन्छ । असार १५ देखि वर्षामा गरिने खेति सुरु हुने र साउन १५ तिर खेती समापन हुने भएकोले यी दिनहरुलाई कृषि प्रणालीसित जोडेर हेर्ने गरिन्छ ।

वर्षातको हरियाली समय र खेतमा धान रोपाइँ गर्दा धेरै दिनसम्म पानीमा भिजिने भएकोले चिसोका कारण विरामी हुन सकिने भन्दै विभिन्न जडिबुटी मिसाएर बनाइएको खीर खाँदा चिसोबाट हुने रोगबाट बच्न साउन १५ मा खीर खाने चलन चलाइएको बताउने गरिन्छ ।

यसैबीच विभिन्न तीनवटा संस्थाहरुको आयोजनामा आज काठमाडौंको टोखामा साउन १५ मनाइएको छ । साउन १५ लाई खीर खाने दिन पनि भनिन्छ । नेपालमा ठाउँ अनुसार यो पर्वलाई विभिन्न तरिकाले मनाउने गरिन्छ । आज भने काठमाडौंमा साहित्यकार खेलकुद समाज, खोज अनलाइन र साहित्य तथा विचार मञ्चको आयोजनामा खीर खाने, पौडी खेल्ने र रचना वाचन कार्यक्रम गरि यो पर्व मनाइएको हो ।

टोखा नगरपालिकाको टोखामा रहेका टोखा केवमा कार्यक्रमको आयोजना गरि साउन १५ को अवसर पारेर साहित्यकारहरुले पौडी खेल्ने, खीर खाने र रचना वाचन गरि भव्य र सभ्यतापूर्वक मनाएका छन् ।

पौडी खेल्ने र खीर खाने कार्यक्रम लगत्तै दर्जन बढी साहित्यकाहरुले आआफ्ना रचना वाचन गरे । रचना वाचन कार्यक्रममा रत्नप्रसाद अनामणि श्रेष्ठ, टंकबहादुर खत्री, दीपक बानियाँ, सुशान्त डंगोल, प्रशान्त डंगोल, माधवलाल श्रेष्ठ, दुर्गा भमरकोटे, राधा कार्की, राजेन्द्र घिमिरे, सुदेश पाण्डे, उमेश पाण्डे, बासुदेव ठकुरी, रेणु अधिकारी ‘मौनता’, तारा केसी, गुप्तबहादुर श्रेष्ठ, जेपी नेपाल लगायतले आआफ्ना रचनाहरु वाचन गरेका थिए ।

आज वाचन गरिएका रचनाहरुमार्फत् समाजमा रहेका विकृति, विसंगती र तिनले नेपाली समाजमा पारेका असरहरुलाई उजागर गरिदिएका छन् ।

कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि रेणु अधिकारीले साहित्यले समाजमा रहेका कुराहरुलाई यथार्थरुपमा बाहिर ल्याउनमा सहयोग गर्नुपर्ने बताइन् । त्यस्तै कार्यक्रमका सभापति तथा साहित्यकार गुप्तबहादुर श्रेष्ठले दुःख गरेर भएपनि आफ्नो र समाजको लागि साहित्यलाई उपयोग गर्नुपर्ने धारणा राखे ।

उनले सबै मान्छे साहित्यकार भएपनि रचना व्यक्त गर्ने मञ्च नपाइरहेको बताए । साथै उनले साहित्य र संस्कृति मासियो भने देश पनि मासिन्छ भन्दै कुनै पनि हालतमा साहित्य र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिए ।

एक प्रसंगमा श्रेष्ठले नेपाली संस्कृतिलाई पश्चिमा संस्कृतिले गाँजेकोले यसबाट छुट्कारा पाउनका लागि नेपाली साहित्यकार लाग्नु पर्नेमा जोड दिए । कार्यक्रममा टोखा केवका सञ्चालक सुशान्त डंगोल विशिष्ट अतिथिका रुपमा उपस्थित थिए । कार्यक्रममा टोखा केवको तर्फबाट सञ्चालक सुशान्त डंगोलले केवको तर्फबाट प्रकाशन गरिएका २ वटा पुस्तक कार्यक्रमका सभापति रेणु अधिकारीलाई उपलब्ध गराए ।