काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको छानबिनका लागि गठित संसदीय विशेष समितिलाई कल डिटेलसमेत हेर्न नदिएको भन्दै आक्रोश व्यक्त गरेका छन्।
अध्यक्ष ओलीले समितिमा रहेका सत्तारूढ दलका सांसदले नै सो समितिलाई कल डिटेल हेर्न नदिएको जिकिर गरे।
साउन १५ (खीर खाने दिन)को अवसर पारेर पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै उनले तत्कालीन अर्थमन्त्री शर्माको तथ्य बाहिर आउँछ भनेर अर्थ मन्त्रालयको सिसिटिभी फुटेज नै गायब गरिएको दाबी समेत गरे।
ओलीले भने, ‘अहिले सिसिटिभी राख्दा त फुटेज गायव। आजकालको जमानामा कल डिटेल हुन्छ। तर, हेर्न नपाइने । कल डिटेल हेर्नचाहिँ पाइँदैन, अब ऊ बेला त न कल डिटेल, न फुटेज, न मोबाइल, न क्यामेरा, न फोटो। उबेला चोरी पत्ता लगाउनु पर्यो भने तामा–तुलसी राखेर कसम खाने चलन थियो,’ उनले भने।
ओलीले हाम्रा चाडपर्वले सामाजिक सुसम्बन्धलाई बलियो बनाएको पनि बताए। उनले प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु देउवाले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेलाई जनैपूर्णिमाको दिन राखी बानिदिएकोतर्फ संकेत गर्दै त्यसमा पनि राजनीति भइरहेको बताए ।