काठमाडौं । संयुक्त राज्य अमेरिकामा रिपब्लिकन र डेमोक्य्राट पार्टीका पूर्वनेताहरूले तेस्रो पार्टी खोल्ने तयारी अन्तिम चरणमा पुगेको घोषणा गरेका छन् । दुई दलीय व्यवस्थाबाट हारथाक भएपछि अमेरिकीहरूले तेस्रो दल खोल्ने जाँगर देखाएका हुन् ।
यता नेपालमा भने बहुदलीय व्यवस्थालाई एउटा काँग्रेस र अर्को वामपन्थी गरी दुई दलीय बनाउने भन्दै दलका शीर्ष नेताहरूले आआफ्ना डम्फू बजाउने गरिरहेका छन् ।
समाचार संस्था रोयटर्स लेख्छ, अमेरिकामा जनताको लोकप्रियता आर्जन गर्न नसकेको दुई दलीय प्रणालीलाई अब त्रिदलीय प्रणालीमा परिणत गर्ने सार्थक प्रयास भइरहेको देखिन्छ ।
दुई दलीय व्यवस्था र उनीहरूको मनोमानी अन्त्य गर्न तथा अमेरिकी मतदातालाई विकल्प दिन रिपब्लिकन तथा डेमोक्य्राटहरूले नयाँ पार्टी घोषणा गर्ने तयारी गरिरहेका छन् ।
त्यो नयाँ पार्टीको नाम अग्रगमन अर्थात् फरवार्ड राखिने भएको छ । यो नयाँ पार्टीको नेतृत्वमा पूर्व डेमोक्य्राट एन्ड्रु याङ र न्युजर्सीकी पूर्वगभर्नर क्रिस्टिन टड ह्वाइटम्यान रहेका छन् ।
याङ सन् २०२० को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डेमोक्य्राट पार्टीबाट एक तहसम्म प्रतिस्पर्धा गरेर चर्चामा आएका थिए । बिचमै प्रतिष्पर्धाबाट बाहिरिए पनि उनको लोकप्रियता कायमै छ । उता ह्वाइटम्यान भने रिपब्लिकन पार्टीबाट गभर्नरको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेकी छिन् ।
यी दुवैको नेतृत्वमा आउँदै गरेको फरवार्ड पार्टीले अमेरिकी राजनीतिमा दबदबा राख्दै र निर्विकल्प आलोपालो सत्ता खाँदै आएका रिपब्लिकन र डेमोक्य्राटलाई केही नयाँ गरेर देखाइदिने सोचमा छन् ।
नयाँ पार्टी फरवार्डले तयारी गरिसकेपछि आउने हिउँदमा देशका विभिन्न सहरहरूमा ठूला ठूला राजनीतिक र्याली आयोजना गर्ने कार्यक्रम अघि सारेको छ । सेप्टेम्बर २४ मा ह्युस्टनमा नयाँ पार्टीको औपचारिक घोषणा उनीहरूको तयारी रहेको छ ।
यो नयाँ पार्टीमा पूर्वरिपब्लिकन राष्ट्रपतिहरू रोनाल्ड रेगन, जर्ज डब्लु बुस र डोनाल्ड ट्रम्पको प्रशासनमा काम गरेका योग्य र स्थापित मानिसहरू समावेश हुँदै छन् । साथसाथै, रिपब्लिकनको रिन्यु अमेरिका मुभमेन्टबाट पनि मानिस थपिदै छन् ।
डेमोक्य्राट छाडेर नेतृत्व गर्न आएका एन्ड्रु याङसँग डेमोक्य्राटका नेता तथा कार्यकर्ता पनि कम छैनन् । यसमा धेरै संख्यामा स्वतन्त्रहरूले बनाएको सर्भ अमेरिका मुभमेन्टका मानिस एकतामा आउँदै छन् ।
अमेरिकी अर्थतन्त्रलाई निष्पक्ष बनाउने, यसको बिस्तार गर्ने, अमेरिकीहरूलाई चुनावमा विकल्प दिने, सरकारप्रति विश्वास बढाउनेलगायत विषय नयाँ पार्टी फरवार्डले आफ्नो एजेन्डामा राखेको छ ।
यो पार्टी मूलतः मध्यमार्गीहरूको हुने विश्वास गरिएको छ । अमेरिकामा तेस्रो पार्टी फस्टाएको इतिहास नभए पनि यसलाई सफल पार्ने सोचमा फरवार्डका नेता लागिपरेका छन् ।
यता नेपालमा भने ‘कांग’ र ‘वाम’ को दुई दलीय प्रणाली बनाउने लहड चल्न थालेको देखिन्छ । तर वाम मिलेर ‘नेकपा’ बनाएका नेताहरू आपसमा मारामार गरे पछि पुनः फुट्न गएकाले नेपालमा दुई दलीय प्रणाली फलिफाप होला भन्ने नदेखिएको राजनीतिक विश्लेषकको धारणा रहेको छ ।