काठमाडौं । विशेष अदालतले सरकारी कागजात कीर्ते गरेर प्रहरी सेवामा प्रवेश गरेका डीएसपी रमेशबहादुर सिंहलाई ८ महिना कैद र १५ हजार जरिवानाको फैसला सुनाएको छ ।
विशेष अदालतका न्यायाधीश श्रीकान्त पौडेल, शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले सिंहलाई गत चैतमा सिंहलाई दोषी ठहर हुने फैसला गरेका थिए।
भ्रष्टाचार मुद्दामा गत चैतमै दोषी ठहर भए पनि फैसलाको पूर्णपाठ भने हालसालै सार्वजनिक भएको हो । पूर्णपाठ अनुसार जन्ममिति सच्याएर प्रहरी सेवामा प्रवेश गरेको पुष्टि गर्दै सिंहले भ्रष्टाचार गरेको ठहर गर्दै कैद र जरिवना सुनाइएको हो। भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को ९१० बमोजिको कसुर सिंहले गरेको पूर्णपाठमा उल्लेख गरिएको छ।
उक्त कसुर गर्नेलाई ६ महिनादेखि १ वर्षसम्म कैद र १० हजार रुपैयाँदेखि २० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी प्रावधान छ। सोही अनुसार सिंहलाई ८ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना हुने पूर्णपाठमा उल्लेख गरिएको छ।
२०५८ मंसिर १२ मा प्रहरी निरीक्षकमा भर्नाका लागि आवेदन खुला भएको थियो। त्यो बेला रमेश सिंहले पनि प्रहरी निरीक्षकमा भर्ना हुनका लागि आवेदन दिए। सशस्त्र द्वन्द्वको समय थियो। प्रहरी निरीक्षकको नतिजा निस्कन भने ढिलाई भइरहेको थियो।
२०५८ सालमा परीक्षा दिएका परीक्षार्थीको नतिजा लोक सेवा आयोगले २०६१ सालमा बल्ल निकाल्यो। आवेदन दिएकामध्ये ८४ जना परीक्षार्थी उत्तीर्ण भएका थिए। ती मध्ये एक थिए, रमेशबहादुर सिंह। उनै रमेशबादुर सिंह २०६१ जेठ १५ गतेबाट प्रहरी निरीक्षकमा सेवा प्रवेश गरेका थिए । बझाङको श्री शान्ति माध्यमिक विद्यालय चौघानपाटाबाट २०४८ सालमा एसएलसी उत्तीर्ण गरेका थिए सिंहले। सिंहको एसएलसीको सिम्बोल नम्बर ०७०००५४ (बी) हो।
एसएसलीको लब्धांकपत्रअनुसार उनको उमेर त्यसबेला २६ वर्ष भइसकेको थियो। लब्धांकपत्रमा उनको जन्ममिति २०३२ माघ १२ गते थियो। प्रहरीमा आवेदन खुलेको बेला उनी २५ वर्ष ११ महिनाको भइसकेका थिए। प्रहरी नियमावली अनुसार आवेदन खुलेको मितिमा २५ वर्ष ननाघेको व्यक्तिले मात्रै आवेदन दिन मिल्ने व्यवस्था छ।
प्रहरी नियमावलीको व्यवस्था अनुसार आवेदन दिन नै सिंह अयोग्य थिए। त्यसपछि सिंहले स्कूलले दिने एसएलसीको चारित्रिक प्रमाणपत्र नै नक्कली बनाए।
नक्कली बनाइएको चारित्रिक प्रमाणपत्रमा उनको जन्म मिति २०३३ माघ १२ गते राखियो। चारित्रिक प्रमाणपत्रअनुसार अब भने उनी प्रहरी निरीक्षकको आवेदन दिन योग्य भएका थिए।